लमजुङ ।
नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी पटक निर्वाचन लड्ने नेतामध्ये अग्रपंक्तिमा रहेका पृथ्वीसुब्बा गुरुङ फेरि एकपटक प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन्। २०४३ सालदेखि निरन्तर चुनावी मैदानमा रहेका गुरुङले अब लमजुङबाट नवौँ पटक निर्वाचन लड्ने आकांक्षा देखाएका छन्।
गुरुङको राजनीतिक यात्रा संघर्ष, हार र पुनरुत्थानले भरिएको छ। २०४३ सालमा लमजुङ क्षेत्र–२ बाट जनपक्षीय उम्मेदवारका रूपमा पहिलोपटक चुनाव लडेका उनी २०४८, २०५१ र २०५६ सालका निर्वाचनमा पराजित भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचन भने उनको राजनीतिक जीवनको टर्निङ प्वाइन्ट बन्यो, जहाँ उनी पहिलोपटक निर्वाचित हुन सफल भए। तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी पुनः पराजित भए।
संघर्षबाट नथाकेका गुरुङ २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेशसभा ‘ख’ बाट विजयी हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बने। मुख्यमन्त्रीको कार्यकालपछि उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट विजयी हुँदै संघीय राजनीतिमा फर्किएका थिए।
यसैबीच नेकपा (एमाले) लमजुङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा गुरुङसँगै जमीन्द्रमान घले, धनञ्जय दवाडी, कृष्णप्रसाद अधिकारी, भगवती थापा (कल्पना) र लक्ष्मीदेवी अधिकारी रहेका छन् ।
लगातारको चुनावी अनुभव, संगठनभित्रको प्रभाव र प्रदेश तथा संघीय दुवै तहको नेतृत्व गरिसकेको पृष्ठभूमिका कारण गुरुङ एमालेभित्र अझै बलियो दाबेदारका रूपमा देखिन्छन्। तर बदलिँदो राजनीतिक समीकरण, मतदाताको मनोविज्ञान र आन्तरिक प्रतिस्पर्धाले यसपटकको निर्वाचन उनलाई सहज हुने कि चुनौतीपूर्ण भन्ने प्रश्न खुलै छ।
नवौँ प्रयासमा पृथ्वीसुब्बा गुरुङको भाग्य दोहोरिन्छ कि लमजुङले नयाँ अनुहार रोज्छ ? यसको उत्तर भने आगामी निर्वाचनको मतपेटिकाले नै दिनेछ।









