पोखरा,१२ आश्विन/ मनिपाल शिक्षण अस्पतालमा नेपाली र गैरनेपालीबीच विभेद रहेको भन्दै समानताका लागि आन्दोलनरत नेपाली चिकित्सक आन्दोलन स्थगित गरेर काममा र्फकने भएका छन् । व्यवस्थापनले माग पूरा गरे पनि चिकित्सकले बिरामी र विद्यार्थीप्रति जिम्मेवार बन्दै बुधबारदेखि एकतर्फी आन्दोलन फिर्ता लिएको जानकारी दिएका छन् । उनीहरूले बिहीबारदेखि नै पूर्ववत् अवस्थामा सबै काम सुचारु गर्ने भएका छन् । चार वर्षदेखि विभेदका विरुद्ध आवाज उठाउँदै आएकोमा सुनुवाइ नभएको भन्दै नेपाली चिकित्सकले भदौ २५ गतेदेखि असहयोग आन्दोलनमार्फत बिरामी परीक्षण र अध्यापन कार्य गरेका थिएनन् । उनीहरूले काम नगरेपछि अस्पतालमा बिरामी दिनदिनै घट्दै गइरहेका थिए ।
‘दसैंको अवसरमा बिरामी तथा विद्यार्थीमा पर्न गएको मर्का हेरेर नेपाली चिकित्सकले काम नगर्दा पश्चिमाञ्चलकै सुविधासम्पन्न अस्पतालको अस्तित्व अन्योलको अवस्थामा समेत पुगेकाले अहिलेको आन्दोलन स्थगित गरी काममा र्फकने निर्णय गरेका छौं’, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संस्थाका अध्यक्ष तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. कृष्ण कोइराला र सचिव एवं बालरोग विशेषज्ञ डा. दीपकप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनको स्वरूपमात्र परिवर्तन गरिएको भन्दै विभेदका विरुद्ध आन्दोलन जारी राख्ने पनि जनाइएको छ । ‘मनिपालमा नेपालीप्रति विभेद गरिन्छ भन्ने दुईमत छैन, त्यसविरुद्धमा हाम्रो लडाइँ हिजो पनि थियो, आज पनि छ र विभेद रहेसम्म जारी रहनेछ’ १७ दिनपछि काममा र्फकन जारी गरिएको विज्ञप्तिमा भनिएको छ । यसअघि सरकारले विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरी पठाएर तीन दिनसम्मको वार्ता असफल भएको थियो । भारतबाट पनि अस्पताल सञ्चालक मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपका वरिष्ठ उपाध्यक्ष निशित मोहन्ती र नायव महाप्रबन्धक श्रीगणेश समस्या समाधानका लागि आएर त्यत्तिकै फिर्ता भएका थिए । सरकारले गृह मन्त्रालयमार्फत पारिश्रमिक विभेदको छानबिन गर्ने उद्योग मन्त्रालयले जनाएको छ । सहसचिव बेगेन्द्रराज शर्मा पौड्यालद्वारा हस्ताक्षरित नेपाली चिकित्सकलाई लेखिएको पत्रमा नेपाली र गैरनेपालीबीचको तलबमान अन्तर, विभेदमूलक र संवेदनशील देखिएकाले प्रजिअमार्फत प्रतिवेदन पेस गर्न भदौ ५ गते गृह मन्त्रालयलाई पठाइएको उल्लेख गरिएको छ । सन् १९९४ मा भारतीय लगानीमा मनिपाल एजुकेसन मेडिकल ग्रुप प्रालिले स्थापना गरेको शिक्षण अस्पतालतर्फ ३६ नेपाली र ३३ जना गैरनेपाली विशेषज्ञ ‘फ्याकल्टी’ चिकित्सक कार्यरत छन् ।
यसअघि मनिपाल व्यवस्थापन तलबको फरक नियमित पुनरावलोकनका क्रममा -सन् २०१२/१३ भित्र) मात्र समायोजन गर्न तयार भएको थियो भने चिकित्सकहरू तत्कालै समायोजन गर्नुपर्ने अडानमा थिए । ‘नेपालमा उपलब्ध हुन नसक्ने विशेषज्ञलाई लामो समयका लागि नभई छोटो अवधिका लागि राखिएको र त्यस्ताको हकमा मात्र नेपालीले प्राप्त गर्ने तलब र सुविधामा नगन्य अन्तर रहेको मनिपाल प्रशासन तथा मानव संसाधन विभागका प्रमुख वीरेन्दर यादवले बताएका छन् । साथै यादवले नेपाली चिकित्सकले ‘ननप्राक्टिस एलाउन्स’ बापत भत्ता लिएर पनि बाहिर काम गर्ने गरेको उनको भनाइ छ । तर नेपाली डाक्टरको ५७ हजार २ सय ९९ रुपैयाँ सुरु तलब रहेको र सोही मितिमा लिएका भारतीय चिकित्सकको तलब १ लाख ३६ हजार १ रुपैयाँ करिब तीन गुना फरक रहेको चिकित्सक बताउँछन् । सय २५ शय्याको अस्पतालमा एमबीबीएस, एमडी, एमएस तथा प्रविणता र स्नातकतर्फ बीएस्सी नर्सिङ पढाइ सञ्चालन गरिरहेको छ । एमबीबीएसमा छ सय ९८, बीएस्सी नर्सिङको ७० र प्रवीणता नर्सिङमा १ सय १८ जना अध्ययनरत छन् । (News Pokhara)