गन्तब्यको प्रतिबिम्ब दिमागमा ताजा बनाउदै सवारी साधनको पर्खाइमा गांढा निलो हरियो रङ्ग कारुवाको आकार खोजीरहेको थिए म । एकादुइ पैदल यात्री त्यो पनि अरुनै नागरिक सडकपेटीबाट हिंडेको देखिन्थ्यो । समय थियो, खास्सै आत्तीहाल्न मन लगेन । किन भने घामले पनि भर्खरै पहेलो अनुहार पार्दै थियो । मुलुकमा भए सन्ध्यामा फलैचा डांडा पछाडि लुक्ने घाम यो मरुभुमिमा म उभिएको पछाडिको केही अग्लो भवनको कौशीबाट ओझेल पर्न लागेको थियो । शुक्रबारको अ मुल्य फुर्सदलाई खर्च गर्दै, हेर्दा श्रीलङ्के जस्तो नागरिक नजिकैको सडक पेटीबाट अघी बढ्दै थियो । मैले जानेको हिन्दीमा सोधे, भैया १०९ नम्बरका करुवा इदरसे आता है ? उस्ले कुनै प्रतिकृया दर्शाउन चाहेन । मैले सोचे यो अरु नै नागरिक हुनु पर्छ । एक्सक्युज मी क्यान आइ गेट १०९ नम्बर कारुवा इन दिस स्ट्प ? उसले केही फर्केर हेर्यो तर मेरो प्रश्नमा खासै रुची राखेन । मेरा आँखाले फेरी जांगरका साथ धेरै सबारी साधनको लाइनमा कारुवाको आकार खोज्न थाल्यो । छिनछीनमा रोड माथि भएको कृतिम बत्ती हेरिरहेँ । केही छिन रोकिन्थ्यो लाग्थ्यो संकेत बत्तीले यिनीहरुलाई रोकेको छ । फेरी खुल्थ्यो अनी हुइकिन्थ्यो । म अगाडिको बिमानस्थल ४ वटा बिमानलाई स्वागत गर्यो ५ वटालाई शुभयात्राका साथ बिदाइ गर्यो मैले पनि मनमनैले बिदाइ गरे, मन हलुङ्गो भयो । स्वागत गरे मन गरुङ्गो भयो । एकछिन आफैले सोचे स्वागतमा रमाउनु पर्ने मन किन बिदाइमा फुरुङ्ग हुन्छ ? उत्तर आफै भएकोले मनसँग त्यती बहस गर्न आबस्यक ठानिन । बाया नाडीलाई १८० डिग्री बनाएर घडी हेरे,उभिएको आधा घण्टा भएछ । मनले भन्यो शुक्रबारको दिन साझा सवारीसाधनमा भिड बढी हुन्छ त्यसैले ढिलो भयो होला । मनले चित्त बुझ्दो कुरा गरेपछी शरीरले पनि केही पर्खिने सहमती जनायो । यती खेर सम्ममा मैले आफ्नो साथमा भएको प्रबिधी साथीबाट स्वरसम्राट साथै नयाँ केही सदाबहार गीतहरु सुनिसकेको थिएँ । तिब्रगतिमा आउने ट्यक्सीहरुले यात्रु भरेर आएको सजिलै अनुमान लगाउन सकिन्थ्यो । केही कम्पनीमा वा घरमा काम गर्ने सवारीचालकहरु आफ्नो अतिरिक्त आय आर्जनको लागि सवारी रोकेर मलाई सोध्थे । कहाँ जाने ? म भन्थे मिसाइड उनीहरु भन्थे वाक्रा फाइव रियाल । थ्यङ्क्यु आइ निड टु गो मिसाइड । सवारी हुइकिन्थो उही गतिमा म फेरी उही आँकार खोज्दै थिए । अब मनले पनि केही सोच्न थाल्यो ।
किन भने आकाश निधाउन लागेको थियो भने सडक बत्तीहरु एकपछी अर्कोगर्दै बिउँझीए । म नजानिदो पारामा समयको हत्या गर्दै थिएँ । केही निर्णय लिउँ भनेर लम्किएँ । एउटा कार आफ्नो बाँया संकेत बत्ती जलाउदै घुयात्रो फ्याके झै हुत्तिएर मेरो नजिक रोकिन नपाउदै शिशा तल गरेर चालकले सोध्यो; ह्वेन रो ? मैले भने आना रो इमसाइड चालक; कम फुलुस हाती ? म; इन्ता काम रीत ? चालक; असारिन, म; मालेस, असरा, चालक; आखिर, खमस्तासर, उ पनी हुँइकियो ।अली परबाट एउटा कालो बर्णको पातलो पैदल यात्रीमा मेरो आँखा पुग्यो म अली आत्तिएको अवस्थामा थिए । मैले केही सोध्ने हाउभाउ गर्दागर्दै उसले सोध्यो ह्वेर गोइङ ? उसले बुझ्ने भाषामा मैले भने मिसाइड गोइङ, हेना माफि हसल सैयारा लाजिम रो तानी दौवर मतार गदिम दौवर, मैले हार्दिकताका साथ भने सुक्रन कतिर । उसले उत्सुकताको साथ् सोध्यो ह्वेन सुगुल ? अना सुगुल बारुवा मसरुवा । मैले यो टुक्रे जवाफ दिदै गर्दा उ अली हतारोमा लम्किदै टाढा पुगिसकेको थियो । मैले एकचोटी दाँयाबँया हेरेर आफुलाई सडक काट्न सचेत गराएँ । कुनै ब्यक्ती सेतो प्लास्टिक हातमा झुन्याउदै अगाडि देखे आफ्नै मुलको जस्तो लागेर मैले आफ्नो हिडाइको गति बढाएँ । नजिकै पुगेपछी नमस्ते ! भन्दै आफ्नो नाम र मुलुकको ठेगाना बाताएँ । उ अली अक्मकिएको जस्तो गरी भन्यो मेरो चाँही झापा । आफुले गलत ठाउँमा बस कुरेर पाएको दु:ख सुनाएँ । उसले पनि त्यही भन्यो १०९ नम्बर त यहाँ आउँदैन त यहाँ त्यो पल्लो चाँही राउनबोडबाट जान्छ । तपाईंले दु:ख पाउनु भो । मैले भने हजुर भर्खरै एउटा सुडानी पैदल यात्रिले यही भनेर त्यतै लम्किदैछु । म पनि त्यहा सम्म जाने हो आउनुस् । अर्धपरिचित मित्रको सहयोगी व्यबहारले अली हर्सित भए । आज बिदाको दिन भएर केही दैनिक चाहिने समान किन्न गएको थिएँ । कोठामा बस्दा बस्दा दिक्क लागेर अली परको मार्केट सम्म घुम्दै पुगेँ । कम्पनी ट्रास, यहाँ ४ साल भो काम जे पनि गर्नुपर्छ । अध्यारो भइसकेको भए पनि सडकबत्तीले उसको केही आफ्नो स्वभाव मेरो आँखाले सजिलै पढ्न सक्थ्यो । तोकिएको तलब ८०० खानको २०० दिन्छ ओटि सोटी गरेर १२, १३ सय थपिन्छ । अनी तलब पनि समयमै दिन्छ । हामीले फलानो फलानो ठाँउमा काम गर्यौ । समुन्द्र छेउको एउटा जोडा जुम्ल्याहाअग्लो बिल्डिङ पनि हामीले बनाको । उसको यो खुल्ला हृदयको बोलीहरु बाहिर आइरहदा अर्ध परीचित मित्र कुनै घनिस्ट मित्र नै पो हो की जस्तो लागिरहेको थियो । मैले उसको भनाइमा पिडा भित्र केही सन्तुष्टी देखेँ । त्यसैले केही आत्मबल बढाउने कुरा बिचबिचमा थप्दै, मैले सडकपेटी बाट हिंड्ने सल्लाह दिए किन भने भित्री सडक भएपनी यहाँ सवारीसाधन तिब्र गतिमा चलाऊने हुनाले हामीले हरेक समय सचेत हुनै पर्नेहुन्छ । उसलाई राउन्डबोर्ड सम्म पुग्दा आफ्नो पिडाहरु कसरी पोखी सकाउ भएको थियो । हेर्नुस् मैले नेपालमा पनि छ बर्ष केबुलमा काम गरेको हुँ । महिनाको ८ हजार कमाइन्थ्यो । मोरङ सिमानामा विवाह गरियो । ४ जनाको परिवार काठमान्डौ मै छन अहिले , छोरा ९ मा पढ्छ, छोरी ४ मा पढ्छे । थानकोट र कलङ्की बिचमा, गाँउ जस्तै छ । पानीको दु:ख छैन धेरै पहिले देखी बसेकोले कोठा भाडा पनि सस्तै छ ५०० बाट बसेको ८०० सय अहिले १५०० लिनु हुन्छ घरबेटी आमै सार्है ठुलो हृदयको हुनुहुन्छ । श्रीमतीले सामान्य सिलाई सिकेर अहिले कपडा पनि सिलाउछे । आफ्नो परिवार सँगै बसेर दु:ख सुख बाडेर जिउने इक्षा कसलाई नहोला र ? आधा मुटु लिएर लाटो कोसेरोको जीवन बाच्नु परेको छ । दशै आयो भन्छन खर्छ हालीदिएको छु । आफु जान नपाए नी बच्चाहरुलाई राम्रो कपडा किनी दिनु मिठो खानु भन्ने त हो आँखाले देखिदैन के गर्छन । पोहोर साल ३ महिनाको छुट्टी गएर आको । परदेशको कमाइ त्यही बेला १४ लाखमा घडेरी किनेको छु घर बनाउने त सपनाको कुरा जस्तो भो अब । जम्मा दुई छुट्टी गएँ , उसको आत्मिय बोलिमा मैले सबै पाएँ । चाहे त्यो राष्ट्रियताको, मानवताको, नैतीकताको । बरु मैले उ सँग सबै कुरा बाड्न सकिन । तर उसले आफ्नो उकुसमुकुसिएको बेदना गाग्रोबाट पानी खन्याए जस्तो खन्यायो, उसको पीडामा केही भावनात्मक शितलता छर्कने प्रयास गरे भने खुशीहरुमा उमङ्ग भर्ने, यो मेरो कुनै लामो यात्रा थिएन । जहाँ मनिसले लामो भलाकुसारी गर्न सकोस । या कुनै भेटघाट थिएन जहाँ एकअर्कामा छलफल र भावना साटासात होस् ।
एउटा अपरिचित पैदल यात्री । मिल्थ्यो त उ जन्मेको माटो उसले टेकेको भुगोल हिंडेको र खेलेको पाखा पखेरा मिल्दोजुल्दो थियो होला अनी नियतीले एउटै भेलबाढिमा पारी पच्छारिएको बगर, यही आधार हो यो आत्मियताको ? तर पनि यो सबै कुरा मिलेको मेरा साथीहरु जो सँग मैले धेरै समय बिताइसकेको छु । तर यो पैदल यात्री अनी मेरा साथीहरु । आत्मियता के हो ? जो धेरै नजिक छन । अनी अपरिचित पैदल यात्री जो केही क्षणको यात्रामा यती धेरै आत्मियता दर्शाउछ । आखिर मित्रता र सम्बध के हो ?
मानव त सबै मानव तर कुन मानवको कती विश्वाश गर्ने ? मित्रता, सम्बन्ध र आत्मियता के अलगै भावनात्मक चिजहरु हुन ? अनेकौ प्रश्नहरु वर्साको दर्के पानी जस्तो मन भरी बर्सियो। उसले भन्यो जसरी हुन्छ केही साल दु:ख गरेर दुई सन्तानलाई राम्रो शिक्षादिक्षा दिन सकियो भने मेरो सपना पुरा हुनेछ । हातमुखको समस्या त हामी कामदारलाई नमरुन्जेल परिनै रहन्छ । यो भनाइहरु धेरै अमुल्य लाग्यो । वहाँले आफ्नो क्याम्प नजिकै रहेको कुरा हातले संकेत गर्दै भन्नु भयो र मलाई राउन्डबोर्ड कटेर खजुरको बुट्टा नजिकैको बस रोख्ने ठाउँमा बसकुर्ने सल्लाह दिएर छुट्नुभयो । एकासी कल्पनिक द्रिस्यहरु मेरो दिमागमा अघीपछी गर्दै छाउन थाल्यो । एकचोटी मैले उँहासँग जुनी साँटे, एकभारी जिन्दगी संघर्शका हरियार अर्जापेँ । मैले दश मिनेट यात्रा गरे अपरिचित मित्र सँग तर वहाँको आधा जीवन सँग परीचित गराउनु भयो । वहाँको संघर्शलाई बुझ्ने अवसर दिनु भयो । संघर्शको त हरेको मनिस पहाड हो । हरेको ब्यक्ती भित्रको अलग अलग संघर्शको अनुभव नै कसैलाई राम्रो ज्ञान आर्जन गर्ने माध्यम बन्न सक्दो रहेछ । यस्तै सोच्दै म सजकताको साथ सडक पार गरी पारी पुगेँ ।
हल्का हावा चलेको बेलुकाको मौसमले धुलोको भकारी (भुमरी) बनाएको हेर्दै थिए । मैले फर्की फर्की अर्धपरिचित यात्री सम्जिरहे । जसको नाम पनि थाहा भएन र हतारमा संपर्क नम्बर पनि लिन सकिन । धेरै गाडीहरु बिचबाट एउटा कोस्टर को गति कम भयो र अगाडिको ठुलो बत्तीले केही संकेत गर्यो, मैले पनि हातको ईशारा गरेँ । कोस्टर रोकियो । ढोका खुल्यो मैले आफ्नो बाँया गोडा ढिकि कुट्न आटेझै गरी नम्रताका साथ सोधे भाई सांप ! मिसाइड जएगा ? आइए भैया ! मैले दिनभरी बिताएको पल, सम्पर्कमा आएका ब्यक्ती सबै सबैलाई हृदयले धन्यबाद दिए ।
*******************
श्यामकुमार ग्लान (तामाङ)
सिन्धुली मझुवा
