१ हजार ६ सय प्रहरी परिचालन, १६ स्थलमा सुरक्षा जाँच
जितेन्द्र साह,
काठमाडौं, पुस १० - क्रिसमसको पूर्व सन्ध्यामा शनिबार पर्यटकीय क्षेत्र ठमेललाई बत्ती र तोरणले झिलिमिली पारिएको छ । दरबारमार्ग, बसन्तपुर, भक्तपुर दरबार, चाँगुनारायण, नगरकोट र तारे होटेलहरुमा पनि उत्सवको माहौल छ । होटेल र रेष्टुरेन्ट साँझदेखि खचाखच भरिएका छन् ।
यो अवसरमा विद्युत प्राधिकरणले ठमेलमा लोडसेडिङ नगर्ने भएको छ । ठमेल पर्यटन विकास परिषदको आग्रहमा प्राधिकरणले बत्ती नकाट्ने निर्णय गरेको हो । प्राधिकरणले नयाँ वर्ष र पर्यटन दिवशमा पनि पर्यटकी क्षेत्रमा बत्ती काट्ने गरेको छैन ।
परिषदले राती दुई बजेसम्म ठमेल खुल्ला राख्ने अनुमति प्रहरी प्रशासनसँग लिइसकेको छ । ठमेलमा लाइभ ब्यान्ड, क्लासिकल म्युजिक, नेपाली म्युजिक र मौलिक साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । साता अगाडीदेखि मगाइएका क्रिसमस केक, फुड, ब्रान्डि सँस र टर्कि चराको मासु होटेल र रेष्टुरेन्टमा पुगिसकेको छ ।
'भोजन, संगीत र पेयको सम्पूर्ण तयारी छ,' परिषदका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले भने । उनले होटेलका कर्मचारी र पर्यटक आफै सान्ता क्लाउज बनेर चोक चोकमा उपहार बाँडने बताए । होटेल र रेष्टुरेन्टमा पानी आपूर्तिमा अभाव हुन नदिनलाई खानेपानी उपलब्ध गराउने निकायसँग सहमति भएको उनले बताए । 'खानेपानीले चाहिएको बेला उपलब्ध गराउने भएको छ,' अध्यक्ष श्रेष्ठले भने ।
'राती अबेरसम्म क्रिसमस इभ मनाइने हुनाले सबै जना थाक्छन्, आइतबार कम भिड हुन्छ,' उनले भने । श्रेष्ठले भने,'खानपीनको क्रम त आइतबार पनि उतिकै हुन्छ ।' ठमेलका होटेलहरु भरिएका छन् । 'हाम्रो होटेलको १३ वटै कोठा फुल छ,' न्यु प्रेसिडेन्ट होटेलका प्रबन्ध निर्देशक रमेश पौडेलले भने, 'वरिपरिको होटेल र रेष्टुरेन्ट पनि भरिएका छन् ।'
आवागमनमा असर पर्नेगरी उक्त क्षेत्रमा बाटा अवरुद्ध हुने गरी कार्यक्रम गरिएको छैन । ट्राफिक र सुरक्षा व्यवस्थापनकोलागि परिषद, लैनचौर, दरबारमार्ग र नगर प्रहरीबाट थप जनशक्ति परिचालन गरिएको छ ।
विदाको दिन भएकोले क्रिसमसको पूर्वसन्धयामा रमझमबीच संगीत गुञ्जिरहेको दरबारमार्गमा अचाक्ली भिड छ । उक्त क्षेत्रका सडक, गली र डबलीमा दिउँसैदेखि यत्रतत्र युवा जोडी देखिए । 'गेष्ट बढेको छ, भर्खरका ठिटाठिटी बढी छन्,' दरबारमार्गस्थित डेलिकेशन एण्ड वीनपियजका एकाउटेन्ट अमित शाहले भने । यी अन्तर्राष्ट्रिय चाडपर्व र नयाँ वर्ष महोत्सवले नै रौनक ल्याउने उनले बताए ।
बसन्तपुर, नगरकोट, भक्तपुर दरबार क्षेत्रमा क्रिसमसको माहौल छ । होटेलहरु खचाखच भरिएका छन् । 'चार दिनसम्म कुनै कोठा खाली छैन,' भक्तपुर दरबार क्षेत्रको इनाछोस्थित बिगबेल रेष्टुरेन्टका सञ्चालक रविन्द्र कायस्थले भने । उपत्यका तीन वटै जिल्लाका चर्च र ईसाई धर्मालम्बीको घरमा यस्तै माहौल छ ।
बालाजुस्थित क्वाइनोनिया चर्च (प्रोटेस्टेन्ट ) सँग आवद्ध युवती अमृता गुरुले शुक्रबारदेखि क्रिशमस महोत्सव सुरु भएको बताइन् । 'शुक्रबार ईश्वरको महिमा र उपकारलाई संझदै पुजा गर्यौं,' उनले भनिन्, 'सबै शाखामा शनिबार नानानानीले प्रार्थना गरे ।' उनले आइतबार बिहानदेखि गीत, नृत्य, भजन र नाटक गर्ने बताइन् ।
महानगरीय प्रहरी परिसर काठमाडौले क्रिसमसको दुई दिन शनिबार र आइतबारकालागि २ सय ५० जना सादा पोशाकमा सहित १ हजार ६ सय जनशक्ति परिचालन गरेको छ । यो सामान्य दिनको तुलनामा दुई गुणाले बढी भएको परिसरका डिएसपी धिरजप्रताप सिंहले बताए ।
परिसरले केशरमहल, लैनचौर, नयाँ बजार, क्षेत्रपाटी, जय नेपाल, टेकु, भोटेबहाल र शहिद गेटलगायतको वरिपरिका १६ स्थानमा पिकेट टोली राखेको छ । 'बदमासी र उपद्रव मचाउनेलाई भाग्न नदिनलाई सतकर्ताकालागि सुरक्षा घेरा बनाइएको हो,' डिएसपी सिंहले भने, 'कुनै न कुनै घेरामा पक्राउ परिहाल्छन् ।'
ठमेल बाहेक ठूला तारे होटेल र रेष्टुरेन्ट भएका दरबारमार्ग, सुन्धारा, बानेश्वर र सोल्टीमोड क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको उनले बताए । 'बाटो अवरोध हुने खालको स्टेज कार्यक्रमको आयोजना गरिएको छैन,' उनले भने । केन्द्रीय प्रहरी कार्यालयले आफ्नो क्षेत्रको संवेदनशीलता हेरेर सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको छ । यहि अनुरुप उपत्यका, पोखरा, चितवन र नगरकोटलगायतका क्षेत्रमा सुरक्षा प्रबन्ध गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।साभारः इकान्तिपुर डटकम