कुलचन्द्र न्यौपाने
काठमाडौ, माघ ५ गते ।
कांग्रेसमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली भएको शासकीय स्वरुपमा जानुपर्ने मत बलियो बन्दै गएको छ । विगतमा संसदीय प्रणालीको पक्षमा वकालत गरेका कतिपय सदस्यसमेत पार्टीकै तेस्रो धारबाट प्रस्तावित प्रधानमन्त्रीय प्रणालीको पक्षमा खुल्न थालेका छन ।
शासकीय स्वरुपमा पार्टीभित्र एउटै मत बनाउन केन्द्रीय समिति र संसदीय दलको बुधबारदेखि सुरु भएको सयुक्त बैठकमा बहुमत सदस्य परिमार्जनसहितको संसदीय प्रणालीको पक्षमा थिए । तर, विकल्पमा प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने उनीहरुको पनि मत थियो ।
बैठकमा बोल्ने सबैजसोले संविधान विवाद समाधान उपसमितिमा प्रस्तुत मिश्रति प्रणालीलाई भने कुनै हालतमा पनि स्वीकार्न नहुने भनाई राखेका थिए । दुई शक्ति -राष्ट्रपति र प्रधानमन्त्री) लाई कार्यकारी अधिकार दिनेगरी प्रस्तावित मिश्रति मोडल व्यवहारतहः सफल हुन नसक्ने तर्क उनीहरुको थियो । कार्यकारी अधिकार बाँडिदा अधिकार क्षेत्रको बिषयलाई लिएर दोस्रो दिनदेखि नै समस्या उव्जने सक्ने भनाई राखेका थिए ।
महामन्त्री प्रकाशमान सिंहले बैठकमा परिमार्जनसहितको संसदीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको मोडलमा छलफल भएको बताए । 'यस विषयमा पार्टीभित्र र पार्टीबाहिर समेत छलफलमा जारी राख्छौ,' उनले भने ।
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जानका कांग्रेस नेतृत्वले हिनताबोध पालेर बस्न नहुने बताए । 'माओवादी अध्यक्ष प्रचण्डले चुनाव जित्लान भनेर हिनताबोध पालेर प्रत्यक्ष निर्वाचित प्रणालीको बिरोध गर्न हुदैन, नेताहरुले यस्तो हिनताबोध पालेर संसदीय प्रणाली नै उपयुक्त हो भन्ने कुरा राख्नु भएन,' उनले भने, 'संझौतामा जाँदा निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा कुरा मिल्छ भने त्यसका लागि पनि पछि हट्न हुन्न ।'
नेता रमेश लेखकले परिमार्जनसहितको संसदीय प्रणाली र नरहरी आचार्यले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको पक्षमा बैठकमा बिषय प्रवेश गराएका थिए । बुधबार १७ जनाले धारणा राखेकोमा आचार्यसहित केन्द्रीय सदस्य श्रेष्ठ, गगन थापा, सुप्रभा घिमिरे, जिप छिरिङ, जीवनप्रेम श्रेष्ठ, रमेश रिजाल, देवराजजोशीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको पक्षमा देखिएका थिए । संसदीय प्रणालीको पक्षमा बोल्ने सदस्यहरुले समेत विकल्पमा दोस्रो प्रस्तावलाई मानेर जानुपर्ने भनाई राखेका थिए ।
लेखकले भने राष्ट्रपतीय र प्रधानमन्त्रीय प्रणालीमा तात्विक भिन्नता नरहेको बताउँदै परिमार्जन सहितको संसदीय प्रणालीको विकल्प कांग्रेसले खोज्न नहुने तर्क राखे । संसदीय पणाली असफल हुनुमा विगतको अभ्यासमा देखिएको विकृति र अस्थिरितालाई हेरिने गरिएको उल्लेख गर्दै त्यसलाई संविधानबाट रोक्ने गरी परिमार्जन गर्न कांग्रेस तयार रहेको बताए ।
'संसदीय प्रणालीलाई व्यवस्थित गर्न एक कार्यकालमा कतिपटक सम्म अविश्वासको प्रस्ताव राख्ने ?, बिकल्पमा बहुमत नेखिएसम्म प्रधानमन्त्री छाडन नपर्ने, संसद भंग गर्न प्रधानमन्त्रीले आफ्नो पक्ष्ाामा बहुमत देखाउनुपर्ने, बहुमत नदेखाउदा सम्म प्रधानमन्त्री हटाउन नमिल्ने र त्यसका लागि पनि अवधि तोक्ने जस्ता सुधार गर्न सकिन्छ' लेखकले भने-यसले अस्थिरिता र अनिश्चितालाई नियन्त्रण गर्छ ।'
परिमार्जित सहितको संसदीय प्रणालीमा राष्ट्रपतिलाई सिमित कार्यकारी अधिकार दिने पक्षमा कांग्रेस जानुपर्ने उनले बताए । इलोक्ट्रोकलेजबाट निर्वाचित राष्ट्रपतिलाई क्याविनेटका निर्णय र संसदबाट पारित बिधेयक उचित नलागेमा पुर्नविचारका लागि फिर्ता पठाउन सक्ने अधिकार दिने, मन्त्रिपरिषदको निर्णय संविधानसम्मत नभएमा संवैधानिक अदालतमा राय अनुसार राष्ट्रपतिले निर्णय गर्ने जस्ता अधिकार दिन सकिने लेखकले बताए ।
'यसको अर्थ मिश्रति मोडल कांग्रेसले स्विकार्ने भन्ने होइन, अहिले प्रस्तुत भएको मिश्रति मोडल अर्ध राष्ट्रपतीय पद्दतीको छ । आधारभूत रुपमा राष्ट्रपतीय प्रणाली भन्दा फरक छैन' उनले भने-'यो व्यवहारिक रुपमा लागु गर्न गाह्रो हुन्छ ।'
आचार्यले भने संसदीय प्रणाली पार्टीको शिद्धान्त र आदर्श नभई माध्यम रहेकाले समय र समाजको परिवर्तनसंग शासकीय प्रणालीमा पनि परिवर्तन खोज्ग्नुपर्ने बताए । 'शान्तिपुर्ण आन्दोलनमार्फत कांग्रेसले राणाशासन पल्टाउने भनेर राष्ट्रिय कांग्रेस गठन गरिएको थियो । तर, त्यसको तीन बर्षमानै कांग्रेस सशस्त्र आन्दोलनमा होमिन परेको थियो' आचार्यले भने-'माध्यम भनेको नीतिगत कुरा हो । हामी हिजो संवैधानिक राजतन्त्रसहितको ससदीय प्रणालीमा थियौ, त्यसलाई विदाई गरेर गणतन्त्र ल्याईसकेकाले शासन प्रणालीमा पनि परिवर्तन हुनुपर्छ ।'
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली विश्वमा इजरायलमा मात्रै रहेको र त्यहाँपनि असफल भएको भन्ने लेखकको भनाईलाई आचार्यले प्रतिवाद गरे । 'इजरायलमा प्रत्यक्ष निर्वाचन गराएपनि संसदबाट अविश्वासको प्रस्ताव राख्न र संसद विघटन गर्न पाउने प्रस्ताव राखिएको छ, जुन निर्वाचित पद्दतीको चरित्रविपरित भएकाले अप्ठ्यारो परेको हो' आचार्यले भने-'राष्ट्रपतिय प्रणालीमा उ भन्दा माथि कोही हुन्न, तर प्रधानमन्त्रीय प्रणालीमा माथि संवैधानिक राष्ट्रपति हुन्छन, जसले शक्तिको दुरुपयोग हुनलाई रोक्न समेत सघाउ पुर्याउँछ ।'
युवा नेता थापाले संसदीय प्रणालीका सवै खराव पक्षलाई पमिार्जन गर्न तयार रहेको पार्टीले प्रत्यक्ष निर्वाचित हुने पद्दतीलाई पनि स्विकार्न हिच्चकिचाउन नहुने बताए । 'संसदको आधारभूत चरित्र कायम राखेर सवै कुरामा परिमार्जन गर्न आवश्यक ठान्छौ भने प्रधानमन्त्रीको निर्वाचन प्रणालीमा परिवर्तन गर्न किन नचाहने ?' थापाले भने-'यसमा कांग्रेस तयार हुने हो भने अन्यदलसंग छलफल गर्दा समेत पोजिशन सहज हुन्छ ।' बैठक विहिबार पनि बस्नेछ । साभारः इकान्तिपुर डट कम बाट