चितवन/तनहुँ ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलताल पारीपट्टी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा आइतबार बसको अवशेष फेला परेको छ। नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको केही भाग भेटिएको हो।
वि.सं. २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको भीषण पहिरोका कारण त्रिशूली नदीमा खसेर दुई वटा यात्रुबाहक बस बेपत्ता भएका थिए। आइतबार फेला परेको अवशेष तीमध्ये एक बसको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार नदी किनारमा गाडिएको अवस्थामा बसको केही भाग देखिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अवशेषको अवस्था हेर्दा लामो समयदेखि नदीको बहाव र बालुवामा पुरिएको हुनसक्ने देखिएको उहाँले बताउनुभयो।
फेला परेको अवशेषको पहिचान पुष्टि गर्न थप प्राविधिक परीक्षण तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, सो अवशेष वास्तवमै सिमलताल पहिरोमा खसेर बेपत्ता भएका बसहरूमध्ये एकको हो वा होइन भन्ने विषयमा आवश्यक अध्ययन भइरहेको छ।
सिमलताल पहिरोमा दुई बस त्रिशूली नदीमा खसेपछि खोज तथा उद्धार कार्य लामो समयसम्म सञ्चालन गरिएको भए पनि बस र यात्रुहरूको पूर्ण विवरण अझै पत्ता लाग्न सकेको छैन। हाल फेला परेको अवशेषले उक्त घटनाको अनुसन्धानमा नयाँ आधार दिने प्रहरीको विश्वास छ।









