काठमान्डौ माघ ७ गते ।
आज पनि विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सडक प्रदर्शन गर्ने भएका छन् । आज काठमाडौं उपत्यकाका तीन जिल्लाहरू ललितपुर, भक्तपुर र काठमाडौंको विभिन्न मुख्य मुख्य भागमा विरोध प्रदर्शन तथा कोणसभा गरिने तयारी भइरहेको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष माधव ढुङ्गेलले सीआईएनलाई जानकारी दिनुभयो ।
आन्दोलनका थप कार्यक्रम तयारीका विषयमा छलफल गर्न आज बिहान ११ बजे १३ विद्यार्थी सङ्गठनको संयुक्त बैठक बस्ने पनि ढुङ्गेलले बताउनुभयो ।
जस्तोसुकै आन्दोलन गरे पनि मूल्यवृद्धि फिर्ता हुन नसक्ने सरकारले बताउँदै आएपछि विद्यार्थीहरूले आन्दोलनलाई सशक्त बनाउन मानसिकता बनाएका छन् । विरोध कार्यक्रमअन्तर्गत कोणसभा, निगम घेराउ तथा धर्ना, प्रदर्शन गरिने उनीहरूले यसअघि सार्वजनिक गरिसकेका छन् । सरकारले १० गतेसम्ममा पनि मूल्यवृद्धि फिर्ता नलिए उपत्यका बन्द गर्ने जनाएका छन् । यसअघि हिजो राजधानीको आरआर क्याम्पस अगाडि भएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही विद्यार्थीहरू घाइतेसमेत भएका थिए ।