काठमान्डौ फागुन ११ गते ।
शान्ति र संविधान निर्माणको बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज बस्दैछ । बैठकमा भावी संविधानका विवादित बुँदामा सहमति गर्ने बारेमा छलफल हुनेछ । राष्ट्रिय सहमतिको सरकार गठन, माओवादी लडाकु समायोजन लगायतको बारेमा पनि प्रमुख तीन दलको बैठकमा छलफल हुने प्रधानन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
सिंहदरवारमा रहेको शान्ति मन्त्रालयमा दिउँसो ४ बजे बस्ने एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकले भावी संविधानको शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्याय प्रणाली लगायतका विवादित बुँदामा कसरी सहमति गर्ने भन्नेमा टुङ्गो लगाउनेछ ।
३ दिनअघि बसेको विवाद समाधान उपसमितिको बैठकमा कुनै सहमति हुन नसकेपछि शासकीयस्वरुप लगायतका विवादित बुँदामा सहमति गर्ने जिम्मा प्रमुख तीन दललाई दिइएको थियो । संविधान निर्माणको कार्यतालिका २ पटक संसोधन भइसक्दा पनि दलहरुबीच विवादित बुँदामा सहमति हुन नसकेपछि गएको फागुन १ गते संविधानसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आन्तरिक कार्यतालिका बनाएको थियो ।
आन्तरिक कार्यतालिका अनुसार हिजोसम्ममा विवादका बुँदामा सहमति गरिसक्नुपर्ने भए पनि संवैधानिक समिति र उसको मातहतमा रहेको विवाद समाधान उपसमितिको जम्मा ६ वटा बैठकमा कुनै सहमति हुन सकेको थिएन ।