काठमाडौँ, १३ चैत । भ्रष्टाचारी ठहर भई जेलमा रहेका अध्यक्ष जेपी गुप्ताको अनुपस्थितिमा कसले बैठकमा विवाद चर्किएपछि मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा हात हालाहाल भएको छ।
विवादका क्रममा निलम्बित सभासद्ले बीपी यादवले मन्त्री राजलाल यादवलाई हात हालेको बैठकमा सहभागीहरुले बताएका छन्।
बीपी यादवले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुपर्ने विचार राखेपछि विवाद बढेको थियो। मन्त्री यादवले रातो पासपोर्ट कान्डमा परेपछि निलम्बित भएका बीपी यादवलाई त्यस्तो विचार राख्ने अधिकार नभएको भन्दै उनको विचारको प्रतिवाद गरेका थिए। उनले यसो भनेपछि आक्रोशित भएका बीपी यादवले मन्त्री यादवलाई हात हाल्न पुगेका थिए।
विवादपछि बिना विभागीय मन्त्री राजलाल यादव र कृषि तथा सहकारी मन्त्री नन्दन दत्त निस्केर हिँडेका थिए। बैठक भने जारी रहेको बताइएको छ।
पार्टीले आफ्नो भागमा परेको सूचना तथा सञ्चार मन्त्रालयमा मन्त्रीको नाम मनोनीत गर्न बाँकी छ। (नागरिक)