Dharam KC, President- NRNA-NCC-Saudi Arabia
नौलो नेपाली युवा संघले कुवेतबाट साउदी अरब पठाइएकी पीडित नेपाली महिला इन्दिरा दंगाल रहेको हफर अल बातेन स्थित साउदीको घर पत्ता लगाउन तथा उक्त घरबाट इन्दिरालाई भगाउन (मुक्त गराउन) मदत गरेको थियो भने नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबका कमल पाठकले जुबैलबाट गाडी भाडामा लिई करीब ५०० कि.मी. टाढा रहेको हफर अल बातेनमा पुगी इन्दिरालाई साथमा लिई दूतावास पुर्याउन खटिएका थिए । सो कार्यका लागि नेपाली दूतावास रियादको पत्र समेत लिएका कमललाई बाटैमा नारिया स्थित साउदी प्रहरीले पक्राउ गरी एक रात थुनामा राखेको थियो, पछि दूतावासकै पहलमा उनी रिहा भएका हुन । स्मरण रहोस कि हफर अल बातेन साउदी अरबको रियाद तथा दमामबाट ५०० कि.मी.को समदूरीमा अवस्थित शहर हो तर कुवेतको बर्डरबाट यो मात्र १०० कि.मि. टाढा रहेको छ ।
इन्दिरा दंगाललाई नेपालबाट कुवेत ल्याउने दलाल हाल कुवेतमा रहेकी कमला खत्री हुन । उनले इन्दिरालाई नेपालकै बिमानस्थलबाट नेपाल सरकारको श्रम स्वीकृति समेत लिएर कुवेत ल्याएको भएता पनि त्यहां केही महिना मात्र राखेर साउदी पठाउनु श्रम सम्झौताको उलंघन थियो । हफर अल बातेनमा साउदीहरूका घर घरमा सारी सारी भोक भोकै हरेक दिन १८-२० घण्टासम्म काम गराउनु, कुटपिट गर्नु, तलब नदिनु, श्रम शोषण, ठगी र अत्याचारको पराकाष्ठा हो । कमलाले यो सबै स्वीकार गर्दै आखिर कुवेतबाट उनले नै नेपाल फर्काएकी हुन ।
इन्दिरालाई बेच्ने दलाल कमला भएको प्रमाण जुटाउने नेपाली जनप्रगतिशिल मञ्च हाल इन्दिरालाई न्याय र क्षतिपूर्ति दिलाउन तथा कमलालाई कानूनी कार्बाहि दिलाउने प्रयत्नमा छ । कमलाका बिरूद्ध नेपाली दूतावास कुवेतमा उजुरी परेको र पीडित इन्दिराले बैदेशिक रोजगार बिभाग र ए.ने.क.पा. माओवादी पार्टी कार्यालयमा पनि न्याय र क्षतिपूर्ति तथा दलाललाई कानूनी सजायको माग गर्दै उजुरी दिन लागेको सम्बद्ध शूत्रले जानकारी दिएको छ ।
यहां स्मरणीय यो पनि छ कि कमलालाई एनआरएनए एनसिसी कुवेतले हालै मात्र आफ्नो महिला प्रतिनिधि (एनसिसी सदस्य) मा मनोनित गरेको हो । त्यसको लगत्तै उक्त मनोनयनका बिरूद्ध कडा आपत्ती जनाउदै कुवेतबाटै एनआरएनएको आइसिसी सदस्यमा मनोनित सदस्य ध्रुब कुमार संग्रौला उर्फ कुमार झापालीले उनलाई एनआरएनएमा मनोनयन गरिए आंफूले राजिनामा दिने बताएका थिए । तर एनआरएनए आइसिसीले उल्टै आफ्नो आइसिसि सदस्य ध्रुब कुमार संग्रौलाको राजिनामा स्वीकृत गरेको छ तर कमलालाई भने अझै पनि एनसिसीमै राखी संस्थागत संरक्षण दिइरहेको छ ।
यसैले कुवेतको एनआरएनएबाट शुरूभएको राजिनामाको लहरले एनआरएनए साउदी अरबलाई पनि प्रभाव पार्यो । हालै मात्र एनआरएनएलाई दलाल, ठग, शोषक र कमिशनखोरहरूको संस्था भन्दै एनआरएनए साउदी अरबका एनसिसी सचिव सहित ३ जनाले ‘सामुहिक राजिनामा’ पेश गरे । यसरी एउटी कमलालाई एनआरएनएले च्यापी रहंदा समग्र एनआरएनए नै बदनाम हुने, यस संस्थाको छबि र प्रतिष्ठामा गम्भीर आंच आउने र एनआरएनएले नैतिक र सामाजिक धरातलमा ठूलै सांगठनिक क्षति ब्यहोर्नुपर्ने अप्रिय परिस्थिती पैदा भएको छ । संस्थाका जिम्मेवार निकाय तथा जिम्मेवार पदाधिकारीहरूले गम्भीर बिचार बिमर्श गरी उचित निर्णय लिन ढिलो भैसकेको प्रतित हुंदैछ । Nepalarab.com