Responsive Ad Slot

latest

नेपाल र भारत आज भिड्ने

Tuesday, June 26

/ by Admin BHOLA THAPA
काठमाडौं, असार १२- नेपालले एसिसी यु-१९ एसिया कप क्रिकेटमा मंगलबार भारतको सामना गर्नेछ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा विजय हात पार्ने टोलीले सेमिफाइनल प्रवेश पाउने छ।

यु-१९ स्तरमा नेपाल र भारत पाँचौंपटक भिड्न लागेका हुन्। सन् २००० मा श्रीलंकामा आइसिसी यु-१९ विश्वकपमा नेपाल र भारत पहिलोपटक भिडेका थिए। युवराज सिंह, मोहम्मद कैफ, बेनुगोपाल राव, रितिन्दर सिंह सोंढी सम्मिलित भारतले सुपर लिगमा विनोद दासको कप्तानमा रहेको नेपाललाई सजिलै ८ विकेटले पराजित गरेको थियो।
२००३ मा भारतको यु-१९ टोली नेपाल भ्रमणमा आयो। 'काठमाडौं क्ल्यास' नाम दिइएको शृंखलामा भारतले शक्ति गौचनको नेतृत्वमा रहेको नेपाली टोलीलाई तीनै खेलमा पराजित गर्‍यो। अम्बती रायडु, सुरेश रैना, भिआरपी सिंह, दिनेश कार्तिकसहितका खेलाडीसँग नेपालले राम्रो चुनौती दिँदै तेस्रो खेलमा विजय नजिक पुगेको थियो।
क्वालालम्पुरमा नेपाल र भारत दुवै पाकिस्तानसँग पराजित तथा मलेसियामाथि विजय पाएका टोली हुन्। पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटले पराजित नेपालले अघिल्लो दिन मलेसियालाई १ सय ७ रनले पराजित गरेको थियो। आइतबार पाकिस्तानसँग १ रनले पराजित भारतले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।
मलेसियामाथि विजय पाउँदा देखाएको अलराउन्ड प्रदर्शन दोहोर्‍याउने नेपालको आशा छ। नेपालले २ सय ४७ रनको मजबुत स्कोर बनाउँदा सुवास खकुरेल र प्रदीप ऐरीले पहिलो विकेटमा ७४ रन जोडेका थिए भने त्यसमा सागर पुनले ७१ रनको इनिङ खेलेका थिए। बलिङमा राहुल बिकले ५ तथा कप्तान पृथु बाँस्कोटा र अविनाश कर्णले २-२ विकेट लिएका थिए।
पहिलो दुई खेल जितेर सेमिफाइनलमा सुरक्षित भइसकेको पाकिस्तानले समूह 'ए' को अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ। समूह 'बी' बाट श्रीलंका सेमिफाइनल प्रवेश गरिसकेको छ। बंगलादेश र अफगानिस्तानबीच मंगलबार हुने खेलले अन्तिम चार पुग्ने अर्को टोलीको टुंगो लगाउने छ।
Don't Miss
© all rights reserved
made with by netKUTI