पोखरा असार २३ गते ।– पोखरा रंगशालामा अन्तराष्ट्रियस्तरको चेन्जिङ्ग रुम बन्ने भएको छ । अर्थ मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएपछि रंगशालाभित्र चेन्जिङ्ग रुम अर्थात खेलाडीले लुगा फेर्ने तथा आराम गर्ने कोठा बन्न लागेको हो ।कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाका अनुसार रंगशालाभित्र फुटबल मैदानको पश्चिमतर्फ रहेको भिआइपी प्याराफिटको तल्लो तलामा अन्र्तराष्ट्रियस्तरको चेन्जिङ्ग रुम बनाईने छ ।
खेलाडी, रेफ्री तथा अफिसियलहरुलाई कपडा फेर्नका लागि छुट्टाछुट्टै कोठा बनाईने छन् ।ती कोठाहरुमा आराम गर्ने सुविधा, ठुला ऐना, महिला पुरुषका लागि छुट्टाछुट्टै बाथरुम समेत बनाइने छ । पोखरा उपमहानगरपालिकाका इन्जिनियरहरुले चेन्जिङ्गरुम निर्माणका लागि झण्डै १७ लाख रुपैंया खर्च हुने अनुमान गरेका छन् ।विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन हुँदै आएको पोखरा रङ्गशाला मर्मत सम्भारको अभावमा नाजुक अवस्थामा पुगेको छ ।
मैदान जो सुकैले प्रयोग गर्दा अव्यवस्थित बनेको हो । विभिन्न प्रतियोगिताहरुका लागि मैदान तयार गरी दुबो उमारी राख्नुपर्नेमा अहिले मैदान हिलाम्मे हुदाँ पनि सरोकारबालाहरुले ध्यान दिन सकेका छैनन् ।