रामचन्द्र नेपाल
छिनेको हात लिएर रगत चुहाउँदै अस्पताल गैरहेको अनि पछिपछि साथीहरु औंलाका टुक्रा प्लास्टिकको झोलामा हालेर आफूलाई पछ्याइरहेको दृश्य आज पनि युवराज खातीको आँखामा घुम्न छाडेको छैन । यो त्रासदीपूर्ण दुर्घटना भएको आज शनिबार ठ्याक्कै वर्ष दिन भएको छ ।
मलेसियाको सेलाङ अस्पतालले उनका काटिएका औंलाहरु करीव १० घण्टाको अप्रेशनपछि जोडिदियो । तर, जन्मँदा लिएर आएको जस्तो त कहाँ पो हुन्थ्यो र Û हातका औंला देखाउनमात्रै काम लाग्छन्, काम गर्न सक्दैनन् । जोडिएका औंला चलाउँदै युवराज भन्छन् -’औंला त जोडिए, तर मन जोड्न नसकिँदो रहेछ ।’
करिव एक वर्षअघि नवलपरासीको जन्मघरमा रहँदा युवराजले आफ्नो जीवनबारे बेग्लै सपना देखेका थिए । तर, मलेसियामा उनको त्यो सपना यतिबेला सपनामै सीमित भएको छ । विदेश गएर दुई चार पैसा कमाउने अनि नेपालमै सानोतिनो व्यापार, व्यवसाय गरेर परिवारलाई सुखसित पाल्ने उनको सपना यतिबेला चर्किएको छ ।
गत वर्ष जनवरी २० का दिन मेसिनले उनको हात छिनाएको हो । अर्काको देशमा पैसाका लागि काम गर्न पुगेका उनीसँग तालिम नलिएकाले मेशिन कसरी चलाउने भन्ने ज्ञान थिएन । जुन हातले नेपालको माटोमा काम गर्नुपर्ने थियो, जुन हात चलाएर परिवार धान्नु थियो, तिनै हातका औंलाहरु परदेशी भूमिमा मेसिनले खाइदियो ।
घटनाको पत्तो परिवारले आजसम्म पाएका छैनन् । पीडा नहोस् भनेर युवराजले आफ्नो पीडा परिवारसमक्ष लुकाएका हुन् । तर, साथीभाइले औंला काटिनासाथ घर परिवारलाई फोन गरिदिएछन् । तर, त्यो कुराको उनले अहिलेसम्म पनि प्रतिवाद गरिरहेकै छन् । ‘अस्ति दुबै हातका औंला देखिने गरी नयाँ फोटो खिचाएर पठाइदिएँ । त्यसपछि भने घरपरिवार ढुक्क भएका छन ।’ युवराजले भने ।
तर, फोटो पठाएको दिन उनलाई रातभरि निद्रा लागेन । मन एक्कासी अमिलो भएर आयो । परिवारलाई कतिदिन पो ढाँट्न सकिन्छ र ? यस्तै सोचेर उनी रातभरि रोए ।
मलेसिया आउनुअघि बिमा गरेको भए पनि त्यसबापतको रकम पाउन करीव एक वर्ष लडाइँ गर्नुपर्यो । बिमा वापतको १० हजार ३ सय ५० रिंगेट खातामा देखिए पनि हातमा पर्न एक वर्ष लाग्यो । थुप्रै ठाउँमा पहल गरेपछि अहिले बल्ल्ा पैसा पाएका छन् । अब केही समयपछि नेपाल जाने तयारी गरिरहेका युवराज आफूजसरी तालिम नलिई कुनै पनि मानिसलाई कामका लागि विदेश नआउन सल्लाह दिन्छन् ।
‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नदेखेका एजेन्टका पछि लागेर हामीले आफैंलाई बेचिरहेका रहेछौँ ।’ – युवराजले आफ्नो अनुभव सुनाए- ‘एजेन्टका झुठ्ठा आश्वासन र उनीहरुको अनुहार झल्झली याद आउँछ, तिनीहरुलाई म जीवनभर बिर्सन सक्दिँन ।’