
सुभाषले 'लेले घुम्न जाउँ' भन्दै फकाएर रोजीलाई मोटरसाइकलमा जंगल पुर्याएका थिए। योजनाअनुसार राजु र कुमार दुवैलाई पछ्याउँदै त्यहीँ पुगे। राजुले मोटरसाइकलबाट ओर्लनुअघि नै रोजीलाई गोली हाने। हत्यापछि दुवैले शव जंगलभित्र फ्याँकेका थिए। रोजीको मोबाइलबाट उनको दाजुलाई ३० लाख रुपैयाँ माग गर्दै एसएमएस आएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। एसएमएसमा 'रकम नपाए तेरो छोरीको भिडियो बनाएर गोली हान्ने' धम्की दिइएको थियो। रोजीका साथीले दिएको सूचनाका आधारमा प्रहरीले शुक्रबारै सुभाषलाई पक्राउ गर्यो। तर, हत्या भइसकेको तथ्य मंगलबार बेलुकीमात्र खुलेको महाशाखाका डिएसपी हृदय थापाले बताए। 'सुभाषले सुरुमा त केही थाहा छैन भन्दै झुक्याइरह्यो,' उनले भने, 'केरकार गरेपछि मंगलबार बेलुका रोजी ज्युँदो छैन भनेर बयान दियो।' त्यसपछि सुभाष आफैंले प्रहरीलाई घटनास्थल पुर्याए, जहाँ सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनायो। सुभाषले बयानका क्रममा आफ्ना सहयोगीहरूको पनि नाम पोले। त्यही आधारमा संचित र हुसेन पक्राउ परे। अर्का सहयोगी कुमारको कोठा छापा मार्दा ७ दशमलव ६२ एमएमको दुईवटा गोली फेला परेको प्रहरीले जनाएको छ। रोजीको हत्यामा यस्तै हतियार प्रयोग गरिएको भनिए पनि हतियार फेला परेको छैन। सुभाषले भनेअनुसार कुमारले केही समयअघि तराईबाट तीनवटा पेस्तोल ल्याएर बेचेका थिए। राजुले यसअघि तीनजनाको हत्या गरिसकेको बयानमा छ। कुपन्डोलमा परिवारसँगै बस्दै आएकी रोजी कान्छी छोरी हुन्। उनका बाबु क्याटरिङ व्यवसायमा संलग्न छन्। नयाँ बानेश्वर बस्ने सुभाषका बाबु सरकारी सेवामा छन्। नेपाल कलेज अफ म्यानेजमेन्टमा दुवैको भेट भएको थियो। कलेजमा उनीहरूबीच गाढा मित्रता भएको थियो। रोजी त्यहीँ बिबिए पढ्थिन्। सुभाष भने केही समयपछि बेलायत पढ्न गए। तर, लामो समय बस्न सकेनन्। अध्ययन नसकी एक वर्षमै फर्किए। उनले 'रोजीसँगको विछोड सहन नसकेर फर्किएको' बयान दिएका छन्। 'रोजीले नेपाल फर्क भनेर कर गरेपछि फर्किएँ,' उनको बयानमा छ, 'फर्कंदा उनी बदलिइसकेकी रहिछन्।'बेलायतबाट फर्किएपछि सुभाषलाई उनका साथीहरूले रोजीको अर्कै 'ब्वाइफ्रेन्ड' भएको सुनाए। 'मैले यसबारे कुराकानी गर्न चोभार बोलाएँ। तिम्रो अर्को केटासँग सम्बन्ध छ भनेर सोध्दा उनले छैन भनिन्,' सुभाषले बयानमा भनेका छन्, 'चोभार मन्दिरमा लगेर कसम खुवाउँदै सिउँदोमा सिन्दुर हालिदिएँ।'
त्यसको केही दिनमा रोजीको मोबाइल हेर्दा अर्कै केटासँग बसेको तस्बिर फेला परेपछि उनीहरूपछि खटपट चुलिएको र यो घटना भएको प्रहरीको भनाइ छ। साभारः नागरिक