हरि बहादुर सारुमगर
पाल्पा कार्तिक ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले काँग्रेसलाई किनारा गरेर मुलुकले कुनै पनि अवस्थामा पार पाउन नसक्ने दावी गर्नु भएको छ ।
राणाकाल पंञ्चायत हुँदै सबै खाले तानाशाहीको विरुद्ध मुक्ति दिलाउन काँग्रेसको नेतृत्वबाट नै संभव भएको चर्चा गर्दै उहाँले शान्ति प्रकृयाको टुङ्गो लगाउन र नयाँ संविधान निर्माण पनि काँग्रेसकै अह्म भुमिकाले मात्र सम्भव हुन सक्दछ भन्नुभयो ।
नेपाली जनताले प्रजातान्त्रको पर्यावाची वनिसकेका काँग्रेस लाई एकता वद्ध भएको देख्न चाहेको वताउँदै काँग्रेसका युवा नेता जोशीले भावनात्मक रुपले काँग्रेस अघि बढ्न र त्यसका लागि गाउँ देखिका काँग्रेस कार्यकर्ताको दवाव आवश्यक छ भन्नुभयो । गाँउका कार्यकर्ताले नै काँग्रेस बचाएको स्मरण गर्दै उहाँले अब काँग्रेस पुरानै अवस्थामा शशक्त पार्न अभियान थालीएको वताउनु भयो ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नंं १ को आयोजनामा भएको क्षेत्रिय अधिवेशनमा बोल्नु हुँदै काँग्रेस सभापति विर वहादुर रानाले संगठन मजबुत बनाउन पाल्पा काँग्रेस सक्रिय रहेको छ भन्नु भयो गुटउपगुटमा नलागी वलियो काँग्रेस बनाउन आफू प्रतिवद्ध रहेको वताउँदै यसका लागि सबैको साथ आवश्यक भएको वताउनु भयो ।
नेपाली काँग्रेस पाल्पाका सचिव माधव नेपालले साँगठनिक गतिविधि वारे चर्चा गर्नु भयो । सो अवसरमा नेका पाल्पाका महासमिति सदस्यहरु कृष्ण अधिकारी, दान वहादुर पछाई, विजय घिमिरे, महाधिवेशन प्रतिनिधि देवराज ढकाल, रमण थापा, सीता देवकोटा ज्ञान वहादुर गाहा, नेविसंघ पूर्व केन्द्रीय सदस्य हिमाल दत्त श्रेष्ठ, हजिल मिया, गाउँ समिति अध्यक्ष सूर्य प्रसाद अर्याल, बाबुराम तिमिल्सिना लगायतले संगठनका बारेमा चर्चा गर्नु भएको थियो । क्षेत्रीय सभापति सन्तोष थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।