Responsive Ad Slot

latest

जग्गा फिर्ता सुरु हुन सकेन

Monday, November 21

/ by Admin BHOLA THAPA
कमल पन्थी
गुलरिया, मंसिर ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले कब्जामा रहेका घरजग्गा फिर्ता बर्दियाबाट सुरु गर्ने प्रयास गरे पनि पार्टीभित्रकै विरोधका कारण हुन सकेन । एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहित आइतबार बर्दिया आई उनले घरजग्गा फिर्ता सुरु गर्ने तयारी गरेका थिए । उपाध्यक्ष मोहन वैद्य पक्षका जिल्ला नेताले विरोध गरेकाले हुन सकेन ।

land
दाहाल दिनभर असहमति जनाउने कार्यकर्तालाई आश्वस्त पार्न व्यस्त रहे । उनले जिल्लास्तरका माओवादी नेतासँग करिब चार घन्टा अन्तक्रिर्या गरे । उनीहरूसँग गोप्य छलफलपछि उनले जग्गा फिर्ता बर्दियाबाट सुरु गरिने घोषणा गरे । 'पार्टीका नामबाट कब्जा गरेका घरजग्गा फिर्ता गरिनेछ,' उनले भने, 'बर्दियामा विशिष्ट रूपमा जग्गाको समस्या भएकाले यसको सुरुआत यहींबाट गरिने छ ।' तर कहिले गर्ने भन्ने उनले खुलाएनन् । बन्द बैठकमा दाहालले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन सातबुँदे सहमतिअनुसार घरजग्गा फिर्ता गर्नु आवश्यक भएको भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए ।

जग्गा फिर्ता गर्न जिल्लास्तरमा पनि कार्यदल बनाएर प्रक्रिया अघि बढाउने उनले बताए । 'कार्यदलले जिल्लामा देखिने जटिल समस्या समाधान गर्नेछ,' उनले भने, 'केन्द्रमा गरेको सम्झौताले मात्रै नहुने भएकाले जिल्लामा पनि दलहरूले गर्नुपर्ने हुन्छ ।' उनले फिर्ता गर्दा भूमिहीन किसान र मुक्त कमैयालाई समस्यामा नपारिने र त्यसको विकल्प आवश्यक भएको जनाए । वैद्य पक्षीय जिल्ला नेताहरूले वैकल्पिक व्यवस्था नगरी जग्गा फिर्ता गरे किसानले प्रतिवाद गर्ने चेतावनी दिएपछि दाहालले यस्तो बताएका हुन् ।
घरजग्गा फिर्ताबारे जिविस हलमा सर्वदलीय कार्यक्रम भएको थियो । कांग्रेस महामन्त्री सिटौलाले घरजग्गा फिर्तालगायतको सम्झौता लागू नगरिए शान्ति र संविधान निर्माण प्रक्रिया अघि नबढ्ने जनाए । 'यो सम्झौताको पालना प्रचण्डजीबाटै हुने विश्वास छ,' उनले भनेे । एमाले उपाध्यक्ष गौतमले कब्जा घरजग्गा अविलम्ब फिर्ता गर्नुपर्ने धारणा राखे ।

तीन दलका आ-आफ्नै बैठक

घरजग्गा फिर्ता गर्न बर्दिया आएका दाहाल, सिटौला र गौतमले आइतबार गुलरियामा आ-आफ्नै पार्टीका जिल्ला नेताको बैठक गरे ।

तीन पार्टीको बैठक आ-आफ्नो पार्टी कार्यालयमा बसेको थियो । माओवादीको बैठकमा वैद्य पक्षीय थारूवान राज्य समिति इन्चार्ज हरिभक्त कँडेल पनि सहभागी थिए । दाहालको स्वागतमा वैद्य पक्षका जिल्लास्तरीय कार्यकर्ता सहभागी भएनन् । दाहालले घरजग्गा फिर्ता गर्ने घोषणा गरे कालोझन्डा देखाउन वैद्य पक्षको तयारी भए पनि कँडेल आएका कारण विरोध नगरेको उनको भनाइ छ । जिविसको सभाकक्षमा भएको पार्टी जिल्ला कमिटीको अन्तक्रिर्यामा दाहालले सोमबार बिहान वैद्य, महासचिव रामबहादुर थापा र प्रधानमन्त्री बाबुराम भट्टराईसँग घरजग्गा फिर्ता सम्बन्धमा छलफल गरेको जानकारी गराएका थिए । 'उहाँहरूको सहमति लिएर मात्र आएको हुँ,' दाहालले कार्यकर्तालाई सम्बोधन गर्दै भने । त्यहाँ जोताहा किसानको समस्या समाधान गर्न छिट्टै सुकुम्बासी आयोग गठन गरिने उल्लेख गर्दै सहमतिअनुसार जग्गा फिर्ता गर्नुपर्नेमा जोड दिए ।

वैद्य पक्षीय सचिव सीपी गजुरेलले दाहालले आफू वास्तविकता बुझ्न बर्दिया जान लागेको आइतबार बिहान भएको बैठकमा जानकारी गराएको काठमाडौंमा बताए । 'अर्को विकल्प नभई जग्गा फिर्ता गर्ने कुरा हुँदैन,' उनले भने, 'विकल्प तयार नगरी जग्गा फिर्ता गर्न खोजे जोताहा किसानले प्रतिवाद गर्नेछन् ।'

यसअघि वैद्य पक्षका किसान नेताहरूले जग्गा फिर्ता नगर्न कब्जा गरेका किसानलाई आग्रह गरिसकेका छन् । कडा सुरक्षाबीच भएको कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश

दिइएन । लामो छलफलपछि जिविस पुगेका दाहालले सभाकक्षको बन्दकोठामा करिब १ घन्टा जिल्ला कमिटीका सदस्यलाई घरजग्गा फिर्ताबारे आश्वस्त पार्न खोजे । उनले 'बलिदान दिएका पार्टी कार्यकर्ताको मनोबल खसाल्न नआएको' बताएका थिए । 'म जमिन्दारको पक्षमा होइन, भूमिहीनको हकहितका लागि आएको हुँ,' दाहालले भने ।

सर्वदलीय कार्यक्रममा पनि दाहालले घुमाउरो पारामा मात्र जग्गा फिर्ता हुने बताए । वैद्य पक्षीय राजापुर इलाका इन्चार्ज गणेश अर्यालले भूमिहीनको समस्या समाधान नभएसम्म घरजग्गा फिर्ता नगरिने बताए । उनले दाहालको निर्देशनलाई नमान्ने प्रतिक्रिया दिए ।

जिल्लामा झन्डै १ हजार ८ सय बिघा जग्गा माओवादीले कब्जा गरेको कांग्रेस जिल्ला सभापति सञ्जय गौतमले बताए । घरजग्गा फिर्ता पाउने आसमा आएका द्वन्द्वपीडित भने यसबाट निराश भएका छन् । मनाउ गाविसका दीपनारायण श्रेष्ठले दाहालले कार्यकर्तालाई जग्गा फिर्ता गर्न निर्देशन नदिएको बताए ।
साभार : ईकान्तिपुर डटकम

Don't Miss
© all rights reserved
made with by netKUTI