सुशील पौडेल,

फिल्ममा कथा नै नभएको त होइन । फिल्ममा प्रहरी इन्सपेक्टर किरण पाण्डे (उमा) र व्यवसायी सागर (सुमन) की एक छोरी छे । सहरको एक नामी व्यवसायीकी छोरी कृषा (सौजन्या) को हत्या भएपछि हत्याराको खोजी गर्ने जिम्मा किरणलाई आइपर्छ । खोज्दै जाँदा उसले हत्यारा धीरज भएको पत्ता लगाउँछे । त्यसैबेला धीरजले पनि किरणकी छोरीको अपहरण गर्छ । हावामा कावा खाँदै विशाल (विराज) उद्धारमा आइपुग्छ । प्रायः फ्ल्यासब्याकमा पात्रको पृष्ठभूमि खुलाइएको फिल्ममा विशाल, धीरज र किरण एकै गाउँका बाल्यकालीन साथी हुन्छन् । तर यसअघि बारम्बार देखभेट भएका उनीहरूमा परिचित भाव
झल्कँदैन । गाउँमै कृषालाई बलात्कारको प्रयास गरेको धीरजले उनको बाबुलाई मारेको हुन्छ । त्यसपछि भागेर सहर आएकी किरणले आठ वर्षमा धनाढ्यसँग बिहेवारी कस्दै प्रहरी इन्सपेक्टर सम्मको प्रगति गर्छे । विशाल पनि मनैदेखि चाहेको किरणलाई खोज्दै सहर पस्छ र आमा गुमाएकी आयुष्मा (रेखा) को शरणमा बस्न थाल्छ । यसरी पात्रको जालझेलमै घिसिपिटी अघि बढेको 'तोड' को वास्तविक तोड भने किरण र सागरलाई तब पर्छ जब छोरीलाई ब्लड क्यान्सर हुन्छ । बल्ल कथाले गति लिन खोज्ने ठानिएको बेला भने फिल्म सकिन्छ ।
फिल्ममा दिनेश अधिकारीको नृत्य निर्देशनले भने दर्शकलाई केही हदसम्म मनोरञ्जन दिन सक्छ । सिनेमास्कोप फिल्मको छायांकनमा शिव ढकालको काम सन्तोषप्रद छ । अभिनयमा मुख्य कलाकार उमा र सुमन नै फिक्का देखिएका छन् । त्यसबाहेक फिल्ममा केही हास्यास्पद गल्ती पनि भएका छन् । सहरको नामुद स्मग्लरले आठ वर्ष अघिदेखि एउटै पोसाक लगाउनु, इन्सपेक्टर किरण पछिल्लो अवस्थामा प्रहरी सेवामा नदेखिनु, उनको सागरसँगको घर छोड्ने गरी भएको झगडालाई जबरजस्ती निम्त्याइनु, खुकुरीले काटिएका हत्केला लगत्तैको दृश्यमा केही पनि नदेखिनु त्यस्ता उदाहरण हुन् ।
फिल्म समीक्षा
तोड
निर्देशक: राजन श्रेष्ठ
कलाकारहरू : विराज भट्ट, सुमन सिंह, रेखा थापा, उमा बेबी, सौजन्या सुब्बा
source: ekantipur