काठमाडौं,
मंसिर ४ - तीन प्रमुख राजनीतिक दल र मधेशी मोर्चासँग भएको सात बुँदे सहमतिअनुरुप माओवादी अध्यक्ष पुष्पकमल दाहाल कब्जा गरिएको घरजग्गा फिर्ता गर्ने काम थाल्न कैलाली जाने भएका छन्। उनीसँगै नेपाली कङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला पनि कैलाली जाँदैछन।
आज बिहान तीन दलको बैठकपछि बाहिरिएका दाहालले पत्रकारहरुलाई जग्गा फिर्ताको कार्य थाल्न आफू जिल्लातिर जान लागेको जानकारी दिएका थिए।
सातबुँदे सहमतिमा यही मङ्सिर ७ गतेभित्र कब्जामा रहेका घरजग्गा फिर्ता गरिसक्ने निर्णय भए पनि 'त्यो आफ्नो पार्टीको निर्णयविपरीत' भन्दै एमाआवादीका उपाध्यक्ष मोहन वैद्य पक्ष चर्को विरोधमा उत्रिएको छ। यसैकारण फिर्ता प्रकृया अगाडि बढ्न सकेको छैन।
राससका अनुसार दाहालसहितको बैठकमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले राज्य पुनःसंरचना आयोगलाई भोलिसम्ममा टुङ्गो लगाउने निर्णय गरेको छ।
शान्ति मन्त्रालय, सिंहदरबारमा आज बिहान बसेको सो बैठकमा संयुक्त मधेसी मोर्चासँग पनि यस विषयमा छलफल गरिने र प्रत्येक पार्टीले आयोगमा राखिने विज्ञ सदस्यहरुको नाम तय गरी भोलिको बैठकबाट निर्णय लिइने बैठकपछि नेताहरुले बताए।
तीनदल र मधेसी मोर्चाबीच गत शुक्रबार तीन दिनभित्र राज्य पुनःसंरचना आयोग गठन गर्ने सहमति भएको थियो। नेपालको अन्तरिम संविधानको धारा १३८ मा सङ्घीय राज्य निर्माणका लागि विज्ञहरु सम्मिलित राज्य पुनःसंरचना आयोग गठन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टीहरु गम्भीर भई शान्ति प्रक्रिया र संविधान निर्माणमा अघि बढेको बताए।
बैठकमा प्रत्येक दलबाट तीनजना विज्ञको नाम प्रस्तुत गरिने र समावेशी आधारमा बढीमा सात सदस्यीय आयोग गठन गरिने सहमति भएको बताइएको छ। (नागरिक)