तनहुँ खबर संवाददाता
तनहुँ, कार्तिक २२
तनहुँ, कार्तिक २२
छैटौं पटक मन्त्रीमण्डल विस्तार हुँदा तनहुँका माओवादी नेता भीमप्रसाद गौतम भुमिसुधार मन्त्री नियुक्त भएका छन् । तनहुँको बन्दिपुर गाविस-२ पिप्ले स्थायी घर भएका गौतम माओवादीका पोलिट्व्युरो सदस्य रहेका छन् । तनहुँ घर भए पनि गौतमले माओवादीको भोजपुरा राज्य समितिको इन्चार्जको रुपमा काम गर्दै आएका थिए ।
विगतमा जनमोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेर काम गरेका गौतम एकता केन्द्र मसाल र माओवादीबीच पार्टी एकीकरण भएपछि माओवादी भएका हुन् । विगतमा पूर्व एकता केन्द्र मसालका नेता नारायणकाजी श्रेष्ठको निकट भए पनि गौतम पार्टी एकीकरण पछि भने उपाध्यक्ष एवं प्रधानमन्त्री भट्टराईको निकट रहँदै आएका थिए । माओवादीको गोरखाको पालुङटारमा सम्पन्न विस्तारित बैठक देखी गौतम भट्टराई निकट रहेका हुन् । यस अघि विस्तारित मन्त्री मण्डलमा पनि गौतम पर्ने सम्भावना रहेको बताईएको थियो । गौतम स्थानीय स्तरमा लोकपि्रय रहेका छन् ।
यस अघि माओवादीबाट भुमिसुधार मन्त्रि भएका प्रभु साह हिन्दु युवा संघका तत्कालिन अध्यक्ष काशि तिवारीको हत्यामा संलग्न भएको प्रमाण भेटिएपछि उनको चौतर्फी राजिनामाको माग भएर साहले पद त्याग गरेपछिको रिक्त स्थानमा माओवादीले गौतमलाई पठाएको हो ।