Responsive Ad Slot

latest

निर्यात हिस्सा आधा घट्यो I

Thursday, December 29

/ by Admin BHOLA THAPA
योगेश खतिवडा
काठमाडौ, पुस १४ - पछिल्लो सात वर्षमा अर्थतन्त्रमा निर्यातको हिस्सा आधा घटेको छ । यस अवधिमा अर्थतन्त्र विस्तार भए पनि निकासीजन्य वस्तु तथा सेवाको उत्पादन हुन नसक्दा कुल गार्हस्थ उत्पादन -जिडिपी) मा निर्यातको हिस्सा ५ प्रतिशतमा सीमित हुन पुगेको छ ।


आर्थिक वर्ष २०६०/६१ मा देशको कुल निर्यात ५५ अर्ब रुपैयाँ थियो । त्यतिखेरको कुल गार्हस्थ उत्पादन ५ खर्ब ३६ अर्ब रुपैयाँ थियो । यस अवधिमा अर्थतन्त्र (जिडिपी) ८ खर्ब १० अर्ब रुपैयाँले विस्तार भयो तर निर्यात भने १३ अर्ब रुपैयाँ मात्रै बढ्यो ।

सरकारी तथ्यांक अनुसार ७ वर्षयता जिडिपीमा निर्यातको हिस्सा १० प्रतिशत थियो । सन् २०१० मा आइपुग्दा जिडिपीमा निर्यातको योगदान ५ प्रतिशतमा सीमित भएको छ ।

मुलुकभित्र औद्योगिक वातावरण नहुने भएर अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै जाँदा यो अवस्था आएको विज्ञ बताउँछन् । पछिल्लो ५ वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर ० दशमलव ३ प्रतिशत मात्रै रह्यो । श्रम विवाद लोडसेडिङ, राजनीतिक अस्थिरता आदि कारणले औद्योगिक वातावरण बन्न नसक्दा समस्या जटिल बन्दै गयो । निर्यात निराशाजनक हुँदा २ वर्षअघि नेपालीले साढे २३ अर्ब रुपैयाँसम्मको भुक्तानी सन्तुलन घाटा बेहोर्न बाध्य भएको थियो । देश भित्रिने भन्दा बाहिरिने रकम बढी भएर उक्त घाटा भएको थियो ।

साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोन्मेट -सावती) का महासचिव रत्नाकर अधिकारीले नेपालले विश्व व्यापारिक प्रणालीमा प्रवेश गरेको लामो समय भए पनि यहाँको उत्पादन प्रतिस्पर्धा गर्न नसक्दा निर्यातमा सन्तोषजनक वृद्धि नभएको बताए । सन् २०६१ मै नेपाल विश्व व्यापार संगठन (डब्लुटिओ), दक्षिण एसियाली स्वतन्त्र व्यापार क्ष्ाेत्र -सापmटा) र विमिस्टेकको सदस्य भएको थियो ।

१० वर्ष अघिसम्म सबैभन्दा बढि विदेशी मुद्रा आर्जन गर्ने तयारी पोसाक उद्योगसँगै गलैंचा र पस्मिना निर्यातमा समेत भारी गिरावट आएपछि निर्यात खस्किँदै गएको हो । यसैबीचमा २०६४ मा अमेरिकाले दिँदै आएको कोटा खारेज भएपछि तयारी पोसाक उद्योग धराशायी नै बनेको छ । अहिले आइपुग्दा सन् २००४ को तुलनामा तयारी पोसाकको निर्यात ९० प्रतिशतले घटेको छ । यस अवधिमा करिब ४ सय कारखाना बन्द भए भने झन्डै एक लाखले प्रत्यक्ष रूपमा रोजगारी गुमाए । सात वर्षको अवधिमा व्यापार घाटा पनि ४ गुणा बढेको छ ।

'कोटा प्रथा हटाउने बित्तिकै नेपालले अरू मुलुकसँग अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न सकेन,' अधिकारीले भने, 'यो मुख्य कारण हो ।' भारतीय उत्पादनले नेपालको नक्कल गर्नु, गुणस्तरीय उत्पादन दिन नसक्नु यसका कारण भएको उनको भनाइ छ ।

'बन्द हडतालले गर्दा समयमा सामान आपूर्ति गर्न नसक्ने अवस्था सिर्जना भएको छ,' अधिकारीले भने, 'कामदारको उत्पादकत्व क्षमता, लोडसेडिङ लगायत कारणले उत्पादन लागत बढेको छ । यस्तो अवस्थामा कसरी निर्यात बढ्छ ।'

निर्यातमा प्रयोग हुने सडक सञ्जाल राम्रो नहुँदा सामान आपूर्तिमा लामो समय लाग्ने गरेको उनको बुझाइ छ । भन्सारबाट सामान ल्याउन र लैजान धेरै झन्झटिलो भएको उनको भनाइ

छ । विश्व बैंकले सार्वजनिक गर्ने 'डुइग बिजनेस रिपोर्ट' अनुसार नेपालबाट तेस्रो मुलुकमा सामान निर्यात गर्दा औसत ४१ दिन लाग्ने गरेको छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे निर्यातमा महत्त्वपूर्ण योगदान पुर्‍याएको गार्मेन्ट र कार्पेटको निकासीमा आएको उच्च गिरावटले निर्यात वृद्धिमा असर पारेको बताउँछन् । 'मजदुर समस्या, बन्द, हडतालका साथै औद्योगिक शान्ति छैन,' उनले भने, 'लोडसेडिङको समय उच्च हुँदा उत्पादन लागत बढेको छ । यति धेरै समस्याका बीच निर्यात व्यापार कसरी बढ्छ ।'

खेतान समूहका अध्यक्ष राजेन्द्र खेतान औद्योगिक उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा निर्यात व्यापारमा सुधार हुन नसकेकाले जिडिपीमा योगदान कम भएको बताए । 'मुलुकमा औद्योगिक वातावरण नहुनु यसको कारण हो,' उनले भने, 'शान्ति सुरक्षा, अस्थिर राजनीतिले औद्योगिक विस्तारमा असर पारेको छ ।'

अाैद्योगिक उत्पादनमा उच्च गिरावट आएको भन्दै उनले थपे, 'यसले अर्थतन्त्रमा असुरक्षा, बेरोजगारी, पुँजी पलायन लगायत समस्या उत्पन्न गरेको छ ।' अर्थतन्त्रलाई मजबुत बनाउन विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षेत्र पहिचान गरी त्यसको प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ । सरकारले पछिल्लो समय १९ वटा तुलनात्मक लाभ भएका वस्तु तथा सेवा पहिचान गरेको छ । तर त्यसको प्रवर्द्धनमा समन्वय र रकमको अभाव हुँदा ठोस नतिजा निस्कने सम्भावना न्यून रहेको बुझाइ विश्लेषकहरूको छ ।

वर्ष कुल गार्हस्थ जिडिपी निर्यात जिडिपीमा निर्यात हिस्सा

२०६०/६१ ५ खर्ब ३६ अर्ब ५५ अर्ब १०.२६ प्रतिशत

२०६७/६८ ८ खर्ब १० अर्ब ६८ अर्ब ८.४० प्रतिशत
source:www.ekantipur.com/np
Don't Miss
© all rights reserved
made with by netKUTI