Responsive Ad Slot

latest

Monday, December 26

/ by Admin BHOLA THAPA

अन्तर्वार्ता दिएरै भन्न थालियो- ‘कुमारी आमा हुँ’

किशोर नेपालको पछिल्लो उपन्यास‘सहरको कथा’को अंश छापिएको ब्लगमा एक पाठकले कमेन्ट गरे- ‘कथा यथार्थपरक नै छ तर सारिका जस्तो पात्र पाउन चाँही मुस्किलै छ अहिलेसम्म त, पछि चाँही भन्न सकिन्न।’ सारिका कुमारी आमा बनेको कथा त्यसमा छ। ती पाठकलाई ‘कुमारी आमा’ अर्थात् बिहे नै नगरी बच्चा जन्माउने आमा नेपालमा होला जस्तो लागेन होला। तर नेपाली समाज उनको सोझो विचारधाराभन्दा कल्पनै गर्न नसकिने गरी धेरै अघि बढिसकेको छ। ‘सारिका’ जस्ती पात्र धेरै लुकेर बसेका छन्। सबैलाई थाहा छैन, त्यो अर्कै कुरा हो। अहिले भने पत्रिकामा अन्तर्वार्ता नै छापेर ‘हो, म कुमारी आमा हुँ’ भन्ने आँट नेपाली महिलाले गर्न थालिसकेकी छिन्। आइतबार ‘देशान्तर’ साप्ताहिकमा छापिएको ‘नायिका’ प्रिया रिजालको अन्तर्वार्तालाई नै प्रमाणका रुपमा लिन सकिन्छ। अन्तर्वार्तामा उनले आफ्नो अहिलेसम्म बिहे नभएको तर साढे पाँच वर्षको छोरा भएको गौरवका साथ बताएकी छिन्। के यो ‘सेक्स’को मामिलामा नेपालीहरुको विचारधारा उदार हुँदै गएको संकेत हो? पाँच छ वर्षअघिसम्म कसले सोच्न सक्थ्यो नेपालमा कसैले ‘म कुमारी आमा हुँ’ भनेर दिएको अन्तर्वार्ता पत्रिकामा छापिएला भनेर ?
कुमारी आमा कसरी बनिन् भन्ने बारे पनि उनको भनाई पनि जिब्रो टोक्नु पर्ने खालको छ। उनका अनुसार उनका एक ‘क्रेजी फ्यान’ले पटक-पटक प्रस्ताव राखेका थिए रे तर उनले मानेकी थिइनन् रे। एक दिन उनलाई बच्चा जन्माउन रहर लाग्यो रे। अनि बच्चामात्र जन्माउने गरी उनीसित सम्बन्ध जोडेको रे।
को हुन् त यी नायिका भनिएकी प्रिया रिजाल? मैले त पहिलो पटक उनको नाम सुनेको थिएँ। कला पत्रकारिता गरिरहेका साथीहरुलाई सोधेँ। उनीहरुले भने, ‘यिनी एकदम फ्लप भइसकेकी हिरोइन हुन्। कलाकारको रुपमा उनलाई महत्त्व दिनुपर्ने केही छैन।’ उनीहरुले उनको
‘क्यारेक्टर’को बारेमा जे सुनाए पनि अन्तर्वार्तामा भने उनले नारीवादीहरु खुसी हुने गरी क्रान्तिकारी कुरा गरेकी छिन्। अन्तर्वार्ता मै पनि उनले बार र रेस्टुरेन्टमा डान्स गर्न थालेकी स्वीकारेकी छिन्। तर त्यस्तो ठाउँमा खराब कुरा मात्र हुन्छ भन्नेहरुलाई उनले ‘हिप्पोक्र्याट’को संज्ञा दिएकी छन्।
अहिले टोटल्ली फ्रि हुन पाएको र विवाहपछि निश्चित घेरा तोकिएर श्रीमान् कै आदेशमा हिँड्नु पर्ने भएकोले विवाह शब्द सुन्नासाथ उनलाई इरिटेट हुन्छ रे। बच्चाले बाउ खोज्दा के गर्नुहुन्छ त भन्ने प्रश्नको उत्तरमा उनले छोरालाई सबै कुरा बताइसकेको र छोराले पनि सानै भए पनि सबै कुरा बुझेको बताएकी छिन् उनले। अहिले पो तरुनी हुनुहुन्छ, पैसा कमाउनु हुन्छ, भविष्यमा बूढी हुँदै जाँदा कसैको सहारा चाहिएला नि भन्ने प्रश्नको उत्तरमा भने उनले ‘पछिको कुरा पछि नै थाहा होला। त्यस्तो होला जस्तो लाग्दैन’ भनेर तारेकी छिन्। हेर्नुस् तल अन्तर्वार्ता-
उनले छोराले सबै बुझेको भनेर भने पनि वास्तवमा साढे पाँच वर्षको छोराले त्यसरी ‘सबै’ बुझ्दैन। र ती छोराका साथीभाइहरु सबैले पनि उनले बुझे सरह नै ‘सबै’ कुरा बुझ्दैनन्। त्यसैले पक्कै पनि त्यो छोरालाई अरु जस्तो सजिलै जीवन बिताउन सजिलो हुने छैन। रुप र यौवन छँदा स्वार्थी पुरुषहरु नजिकिने र पैसा पनि कमाउने भए पनि बूढी हुँदै जाँदा के हुने भन्ने प्रश्नको जवाफ उनी आफैलाई थाहा छैन। त्यसैले उनले पछिको कुरा पछि नै थाहा होला भन्ने जवाफ दिएकी छिन्।
भर्खरैको एउटा बलिउड फिल्म ‘डर्टी पिक्चर’ले यस्तै एउटा कथालाई बडो मार्मिक ढंगले प्रस्तुत गरेको छ। दक्षिण भारतीय फिल्म उद्योगकी नायिका ‘सिल्क स्मिता’को वास्तविक जीवन कथामा आधारित यो फिल्ममा रुप र यौवन कै कारण सबैलाई आफ्नो औँलामा नचाउने सुर कस्छिन् नायिका। स्वार्थको सम्बन्ध गाँसिन्छ विभिन्न पुरुषसित उनको। दर्शक र सभ्य भनिने समाजको भीडले पनि स्वार्थ कै सम्बन्ध गाँस्छन् उनीसँग। हलभित्र उनको शरीर देखेर वाहवाह गरे पनि बाहिर समाजमा भने छिछि र दूरदूर। एक मोडमा पैसा र प्रसिद्धि प्रशस्त कमाए पनि पछि त्यो सब हराउँछ। ब्लु फिल्ममा काम गर्ने अवस्थामा पुग्छिन् उनी। वर्तमान र मात्र वर्तमान हेरेर भविष्यलाई चटक्कै भुलेपछि उनी आत्महत्याको बाटो रोज्न बाध्य हुन्छिन्।
अहिले बजारमा अन्तर्वार्ता छापेर कुमारी आमा हुँ भन्ने प्रिया जस्ती केटी र साहसी काम गरेको देखाउन कुमारी आमा बन्नेलाई पनि भविष्यको बारेमा केही थाहा छैन। केही पाउने आशामा उनलाई वाहवाह भन्ने स्वार्थी पुरुषको पनि कमी नहोला। परम्परा र संस्कारको दुहाइ दिएर उनको कडा शब्दमा आलोचना गर्ने तर भित्रभित्र पाएमा त्यस्ता परम्परा र संस्कारको कुरालाई हावामा उडाएर नाङ्गै बन्नेहरुको पनि कमी नहोला। यो हाम्रो लुकेको समाजमा पर्दाभित्र जे भए पनि पर्दाबाहिर भने यस्ता महिलाले सहज जीवन जिउन पाउने स्थिति अहिलेको अवस्थामा देख्दिनँ म। अहिले कुमारी आमा हुँ भनेर बाहिरबाहिर साहसी देखिने काम गरे पनि अन्ततः त्यसको परिणाम सहज पक्कै हुने छैन। राजनीतिक संक्रमण जस्तो समाज पनि संक्रमणको अवस्थामा छ अहिले। यसरी कुमारी आमा बनेर चर्चामा आउन चाहनेहरु भर्खरै देखिएका हुन् हाम्रो समाजमा। त्यसैले उनीहरुले के भोग्छन् भविष्यमा, त्यो हेर्न बाँकी छ। उनीहरुलाई रोल मोडल ठानेर केही महत्त्वाकांक्षी केटीहरुले उनीहरुकै बाटो पछ्याउने डर भने छ।
तपाईँलाई के लाग्छ, यस्ता कुमारी आमा र उनीहरुका सन्तानको भविष्य के होला ? के कुमारी आमाबाट जन्मिएका सन्तानलाई तपाईँ हामी बस्ने समाजले सहज रुपमा लिन सक्लान् ? कुमारी आमा महिलाको मात्र इच्छाले बन्ने हुन् कि पुरुषको स्वार्थी व्यवहारले बन्ने हो ? कति राजनीतिक विषयमा कुरा गर्नुहुन्छ ? आउनुस्, आज यस्तो सामाजिक विषयमा पनि बहस गरौँ।
साभार माइसंसार www.mysansar.com
Don't Miss
© all rights reserved
made with by netKUTI