दमौली, १५ माघ- तनहुँको देउराली गाविसलाई शनिबार खुला दिशामुक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ५१० घरधुरीमा शौचालय निर्माण भएपछि गाविसलाई खुलादिशामुक्त घोषणा गरिएको हो ।
गाविसमा शौचालय निर्माण अभियानको क्रममा ४ सय १५ र अभियानपूर्व ९५ घरधुरीमा ४ लाख ९८ हजार रुपैयाँको लागतमा शौचालय निर्माण भएको हो । देउराली खुलादिशामुक्त हुने २३ औं गाविस हो ।
शनिबार देउराली गाविसको हिलेखर्कमा आयोजित खुला दिशामुक्त घोषणा कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी गणेश घिमिरेले खुला दिशामुक्त घोषणा गर्न सहयोग पु¥याउने स्थानीयवासीलाई धन्यवाद दिँदै आनीबानीमै स्वास्थ्य सम्बन्धी सुधार गर्नुपर्नेमा जोड दिए ।
गाविस सचिव एवं अध्यक्ष धनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एकबहादुर राना, नेपाली कांग्रेसका सचिव विश्व बास्तोला, माओवादीका जिल्ला सदस्य पूर्णबहादुर गुरुङ, गाविस सचिव हकहित संरक्षण मञ्चका केन्द्रीय सचिव रामराज न्यौपाने, रेडक्रसका उपसभापति गौरवराज रेग्मी, जिविसका अनिल खनाल र श्रीराम खनाल, स्थानीय विपना तामाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन जिविस तनहुँका गिरबहादुर रानाले गरेका थिए ।