काठमाडौ, माघ ३ - प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेशी मोर्चा सहितको संयुक्त बैठक मंगलबार बोलाएका छन् । अपरान्ह १२ बजे शान्ति मन्त्रालयमा उक्त बैठक बोलाइएको हो ।
शान्ति र संविधानको प्रक्रिया अगाडि नबढेर आलोचना खेपिरहेका प्रधानमन्त्री भट्टराईले राजनीतिक सहमति खोज्न बैठक बोलाएका हुन् ।बैठकमा माओवादी,कांग्रेस,एमाले र मधेशी मोर्चाका नेताहरुको सहभागिता रहनेछ ।
कात्तिक १५ मा शान्ति प्रक्रियलाई निष्कर्षमा पुर्याउने उद्देश्यले तीन दल र मधेशी मोर्चा समेतले सात बुँदे सहमति गरेका थिए । उक्त सहमतिपछि लडाकु वर्गीकरण प्रक्रिया अगाडि बढेपनि त्यसपछिको काम बढ्न सकेको छैन । प्रमुख प्रतिपक्षी कांग्रेस र एमाले लगायतले माओवादी तथा प्रधानमन्त्री भट्टराईकै कारण शान्ति प्रक्रिया अगाडि नबढेको आरोप लगाउँदै आएका छन् । त्यस्तै,केही समय यता शासकीय स्वरुपको विषयमा अल्झेर संविधान निर्माण प्रक्रियामा पनि अवरोध आएको छ । प्रधानमन्त्रीले शान्ति र संविधानका प्रक्रियामा देखिएको अवरोधमा राजनीतिक सहमति खोज्ने उद्देश्यले बैठक बोलाएका हुन् ।