काठमाडौं, माघ २ - उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्य उपचारका लागि आज जापान जाँदैछन्। घाँटी र ढाडसँग सम्बन्ध राख्ने सर्भाइकल स्पोन्डिलाइटिसबाट पीडित मन्त्री श्रेष्ठको होकाइदो विश्वविद्यालय, ग्र्याजुएट स्कूल अफ मेडिसिनमा उपचार हुनेछ। मन्त्री श्रेष्ठले आफ्ना निजी चिकित्सक सुरज बज्राचार्यलाई पनि साथै लैजाने छन्। थाइ एयरवेजको १ बजेको फ्लाइटबाट जापानका लागि प्रस्थान गर्ने मन्त्री श्रेष्ठले बैंककमा केही समय ट्रान्जिटमा बिताउनेछन्।
होकाइदो विश्वविद्यालयको अस्पतालमा उनको घाँटीको शल्यक्रिया गर्ने निश्चित गरिएको छ। 'सल्यक्रियाको मिति अहिलै तय भइसकेको छैन', मन्त्री श्रेष्ठका निजी सहयोगी शीतलकाजी श्रेष्ठले नागरिकन्युजसँग भने- 'चिकित्सकले हेरेपछि तीन चार दिनिभत्र सल्यक्रिया हुनेछ।'
मन्त्री श्रेष्ठलाई पाँच महिनाअघि सिंगापुरमा चेक अप गराउँदा चिकित्सकले तत्काल सल्यक्रिया गर्न सिफारिश गरेका थिए। 'समय अभावका कारण त्यतिबेला सम्भव भएन', सहयोगी श्रेष्ठले भने- 'चिकित्सकले अब ढिलो हुन लाग्यो भनेकाले शल्यक्रिया गर्न लागिएको हो।'
घाँटी र ढाडमा समस्या हुने सर्भाइकल स्पोन्डिलाइटिसका कारण मन्त्री श्रेष्ठले घरमै दैनिक फिजियोथेरापी तथा नेचुरल थेरापी गर्दै आएका थिए। उनको उपचारमा संलग्न डाक्टर सुरज बज्राचार्यले थेरापीले सामान्य रोकथाम मात्र गर्ने समस्या समाधान नगर्ने भनेपछि थप उपचारका लागि जापान जान लागिएको हो। सहयोगी श्रेष्ठका अनुसार सर्भाइकल स्पोन्डिलाइटिसको सल्यक्रिया नेपालमा राम्रो नहुने भन्दै चिकित्सककै सिफारिश गरेपछि मन्त्री श्रेष्ठ उपचारका लागि जापान जान लागेका हुन्। (नागरिक)