दोहा, माघ १२ - कान्तिपुर पब्लिकेसन्सको कतार संस्करण बिहीबारदेखि ब्रोडसिट (ठूलो) आकारमा प्रकाशन हुन थालेको छ । यसअघि उक्त पत्रिका ट्याबलोइड (सानो) आकारमा थियो ।
पब्लिकेसन्सले 'कान्तिपुर प्रवास साप्ताहिक' पाँचौं वर्ष प्रवेश गरेको अवसरमा कतारका पाठकको चाहनाअनुसार ब्रोडसिटमा रूपान्तरण गरेको जनाएको छ । १६ पृष्ठको उक्त पत्रिका ६ पृष्ठ रंगीनसहित 'ग्लसी' आवरणमा छापिन थालेको छ ।
रोजगारीका लागि कतारलगायत खाडी क्षेत्रमा कार्यरत नेपालीलाई सुसूचित गर्न पब्लिकेसन्सले २०६४ माघ ११ देखि उक्त संस्करण प्रकाशन गर्दै आएको हो । यसको पाँचौं वर्ष प्रवेशका अवसरमा थप सफलता तथा विस्तारको कामना गर्दै दोहालगायत खाडी क्षेत्रमा कार्यरत श्रमिक, पेसाकर्मी, व्यवसायी तथा संघसंस्थाहरूले शुभकामना व्यक्त गरेका छन् ।
कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले नेपाली श्रमिकको रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन कान्तिपुर प्रवास साप्ताहिकले अहं भूमिका खेलेको भन्दै आभार व्यक्त गरेका छन् ।
कान्तिपुर पब्लिकेसन्सले कतार संस्करणको वाषिर्कोत्सवका अवसरमा सहयोगी समस्त पाठक वर्ग, विज्ञापनदाता, नेपाली नियोग, संघसंस्था, मजदुर, पेसाकर्मी, व्यवसायीलगायत सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ । कान्तिपुर