काठमान्डौ, फागुन १४ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफै पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउनु पर्ने बताउनु भएको छ ।भट्टराई पूर्ण रुपमा असफल सावित भईसकेको भन्दै उहाँले राजीनामा दिएर मुलुकलाई निकास दिन सुझाव दिनुभयो । आइतबार राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा राणाले भन्नुभयो-’औचित्य सकिएको प्रधानमन्त्रीले आफै राजीनामा दिए उपयूक्त हुन्छ ।
उहाँले आफै राजिनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउनु पर्छ ।’ अहिलेको सरकार सुशासन, सुरक्षा, मितब्यीता सबै दृष्टिकोणले असफल भईसकेको दावी गर्दै भन्नुभयो-’ग्यासँ पनि पाईदैन, पेट्रोल पनि पाईदैन, पानी पनि पाईदैन, विजुली पनि पाईदैन । सरकार पूर्ण असफल भईसक्यो । हिसिला जीको भाषामा भन्ने हो भने यो सरकार छपाया मरु हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता ७० प्रतिशत पुरा भएको भन्दै उहाँले आगामी बैशाख मसान्तसम्म पार्टी एकताको प्रक्रिया पुरा हुने विश्वास ब्यक्त गर्नुभयो । कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि पार्टी एकताका लागि छलफल भईरहेको भन्दै उहाँले संवैधानिक राजतन्त्र र गणतन्त्रमा कुरा नमिलेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो-’धर्म निरपेक्षताको विषयमा सहमति बन्न सक्ने अवस्था छ । तर हामिले गणतन्त्र स्विकारी सकेको र उहाँहरुले राजतन्त्र भनिरहेकोले कुरा नमलिेको हो । राप्रपा नेपालले राजतन्त्रको अडान छाडे पार्टी एकता भई हाल्छ ।’