तुलाराम पाण्डे मान्म (कालिकोट), माघ २० - सदरमुकाम मान्म बजारस्थित एक घरमा विहीवार राति ११ बजे आगलागी हुँदा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ ।
धौलागोह २ पनेरा स्थायी घर भएका अजवहादुर बमको टीनको छाना भएको ३ तले घरमा आगलागी हुँदा बदालकोट सिकुस्थित सरस्वति माविका शिक्षक वीरेन्द्र कठायतका ९ वर्षीय छोरा बिमल र १३ वर्षीया छोरी शर्मिला र दैलेख घर भएकी जिल्ला प्रहरी कालिकोटमा कार्यरत महिला प्रहरी जवान सुनिता परियारको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट मृत्यु भएका दुई बालबालिका स्थानीय बाल विकास इङ्गलिस बोडिङ्ग स्कूलमा पढ्थे । शर्मिला कक्षा ६ र विमल कक्षा २ मा अध्ययनरत थिइन् ।
बिहीबार राति ११ बजेतिर त्यही घरमा सञ्चालित दाजुभाइ मिलन होटलले कोठामा उज्यालो गर्न बालिएको मैनबत्तीबाट आगलागी भएको प्रहरी अनुमान छ । आगलागीबाट मृतक बालबालिकाकी आमा कृष्णा कठायत र राम्नाकोट १ घर भएका एमाले जिल्ला कमिटी सदस्य मर्मजंग बम सामान्य घाइते भएका छन् । 'सुतिरहेकी थिए, जीउमा लागोले पोलेपछि थाहा पाएँ' दुइटै छोराछोरी गुमाएकी घाइते कृष्णाले रुँदै ईकान्तिपुरसग भनिन् 'मेरो केही रहेन ।' उनकाअनुसार त्यही घरको पछाडि पट्टीको कोठा भाडामा बस्ने महिला प्रहरी सुनिता पनि एक्लै भएकी र आफ्ना पनि श्रीमान् बाहिर भएकाले गफ गर्न त्यही आएर सुतेकी थिइन् ।
होटल र डेराभाडामा बस्ने गरी ३१ जना आगलागी हुँदा घरमा रहेको होटल सञ्चालक लोकेन्द्रवहादुर बमले बताए । 'आगो कति बेला कसरी लाग्यो थाहै भएन,' राति १० बजे सबै ग्राहकलाई खाना ख्वाएर भुईं तलामा सुतेका बमले भने 'आगो लागेपछि हल्ला खल्ला भएपछि मात्र थाहा पाइयो ।'
मैनबत्तीबाट प्लाष्टिक सल्किएको र त्यसबाट सल्लाको काठ बलेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट त्यही घरमा रहेका दाजुभाइ मिलन होटल, बडिमालिका प्रगति समाज र ग्रामीण पर्यटन ब्यवसायी सहकारी संस्थाका फर्निचर, लत्ताकपडा, कम्प्युटरसहितका सामान जलेका छन् ।
आगो मान्मस्थित शार्दुल संग्राम गुल्म, जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थानीय युवाहरुको सहयोगमा राति १ बजे नियन्त्रणमा लिएको थियो । आगलागीबाट मृत्यु भएकोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।साभार ईकान्तिपुर डट कम