रवि रोषी,
दोहा १५ मार्च । गैर आवासिय नेपाली संघका अध्यक्ष जिवानाथ लामिछानेले कतारवासी नेपालीजनलाई सामुहिक लगानीका योजनामा सहभागी हुन अपिल गरेका छन् । लामिछानेले नेपालमा जलविद्युतका क्षेत्रमा सामुहिक लगानीको लागि गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए– आइसिसी) ले समन्वय गरिरहेकोले निश्चिन्त भई सहभागी हुन पनि आग्रह गरे ।

सन् २००३ मा एनआरएन शुरु भएको वेलादेखि नै सामुहिक लगानीको अवधारणा शुरु भएको उनको भनाई थियो । सामाजिक एवं आर्थिक क्षेत्रमा लगानी गर्न यो अवधारणा आएको उनले बताए । यसअघि लगानी कोष र १ सय अर्व लगानीको अवधारणा आएको भए पनि अघि बढ्न नसकेको स्विकारोक्ति पनि उनले दिएका छन् । ‘एनआरएनवारे क्रिटिकल कुरा धेरै सुनेपछि आइन्दा गम्भिर हुने सोच लिएर काठमाण्डौ अधिवेशनवाट कर्मभूमि फर्केका हामी अव भने पुर्णरुपमा स्पष्ट बनेर आएका छौं’ उनले भने । १ सय मेघावाट क्षमताको जलविद्युत परियोजनामा लगानी गर्ने घोषणा काठमाण्डौमा नै गरेको उनले सम्झाए । साना, मझौला र ठूलो लगानी गरी ३ वटा तह बनाएको उल्लेख गर्दै लामिछानेले हालका लागि १ लाखवाट १ करोड लगानीको सिमा तोकेको पनि जानकारी दिएका छन् । १ लाखभन्दा सानो लगानी गर्न चाहनेले समुह बनाई १ लाखको सिमाभन्दा माथि पुगेर कर्पोरेट लगानीकारुपमा आउनसक्ने पनि उनले स्पष्ट पारेका छन् ।
एनआरएन ऐन अनुसार एनआरएनएको लगानी वैदेशिक लगानी सरह हुने, शुरुको पूँजिमा कर नलाग्ने र पछि फिर्ता लैजान चाहेमा परिवर्तित विदेशी मुद्राका रुपमा लैजान सकिने ब्यवस्थावारे जानकार रहन उनले सुझाव दिए । ‘मुलुकमा विजुली उत्पादन भएको १ सय वर्षभन्दा बढी भइसक्दा पनि सुख्खा मौसममा १६ देखि २० घण्टासम्म लोडसेडिङ्ग ब्यहोर्नुपर्ने बाध्यताका कारण पनि हामीलाई जलविद्युतको क्षेत्रमा केहि गर्नुपर्छ भन्ने कर्तब्यबोध गराएको छ’ देशमा ३० प्रतिशतले मात्र विजुली पाएको उल्लेख गर्दै लामिछानेले भने ।
‘लगानी सुरक्षित हुने, प्रतिफल पनि दिने र राज्यलाई सेवा पनि हुने’ उनको भनाई थियो– ‘यसैले पनि हालका लागि शुरुवातका रुपमा हाईड्रोपावरमा लगानी गर्ने सोच बनाइएको हो ।’ परियोजनाको समापनपश्चात् ‘पावर पर्चेज एग्रिमेन्ट’ गरेपछि त्यसको भुक्तानी विद्युत प्रधिकरणवाट हुने, निर्माणका वेला दुर्घटना भए विमा कम्पनीले तिर्ने हुनाले पनि जलविद्युतको लगानी हरेक पक्षबाट सुरक्षित रहेकोमा ढुक्क रहन उनले कतारवासीलाई सुझाव दिए ।

गत वर्ष सरकारले उर्जा संकटकाल घोषणा गर्दै नीजि क्षेत्रलाई विद्युत उत्पादनका लागि प्रोत्साहित गरेकोले ‘राज्यका निम्ति कर्तब्य’का रुपमा पनि लगानी लगाउन उनले आह्वान गरे । २०१२÷१३ लाई लगानी बर्षका रुपमा घोषणा गर्दै सरकारले लगानी ल्याउन सहयोग गर्ने बताएकोले पनि यो एक सु–अवसर अुने उनको राय छ । ५० वटा परियोजना सरकारले पहिचान गर्ने र जानकारी गराउने आश्वासन पाएको उनले खुलासा गरेका छन् । सामूहिक लगानीलाई सहज बनाउन एनआरएनएका हरेक एनसिसीभित्र विशेष कमिटी बन्ने उनले जनाएका छन् । आगामी अक्टोवरसम्म कम्पनी स्थापना हुने उनले जनाए ।
एनआरएनएको पाँचौ अधिवेशनपछि पहिलोपटक कतार आएका लामिछानेले सामुहिक लगानीवारे थप स्पष्ट पार्नका लागि शुक्रवारको समय मिलाएर फेरि पनि कतार आउने प्रतिवद्धता दिएका छन् ।
एनआरएनएको पाँचौ अधिवेशनपछि पहिलोपटक कतार आएका लामिछानेले सामुहिक लगानीवारे थप स्पष्ट पार्नका लागि शुक्रवारको समय मिलाएर फेरि पनि कतार आउने प्रतिवद्धता दिएका छन् ।
कार्यक्रमको अन्तमा अध्यक्ष लामिछानेले एनआरएनएका गतिविधिहरूमाथि पनि संक्षिप्तरुपमा प्रकाश पारे । पाँचौं विश्व सम्मेलनपछि विभिन्न पदाधिकारीहरूको नियुक्ति, टास्कफोर्सहरूको गठन, फण्ड र च्यारिटी कलेक्शन लगायतका काम भएको उनले बताए । च्यारिटीका लागि डेढ करोड संकलन भएको उनले जनाएका छन् । एनआरएनएको भवन बनाउनका लागि पहल भएको र यो कार्यकालमा कम्तिमा जमिनसम्म भएपनि किन्ने उनको भनाई थियो । यसपटक ३ साता नेपाल बसेको र संस्था दर्ताका लागि पनि अध्ययन गरिरहेको उनले बताए । ‘अहिले एनआरएन ऐन परिवर्तन सम्भव छैन । यो ऐनका कुरा मानेर त्यस अनुसार संस्था दर्ता गर्न सकिँदैन’ उनले भने ।
ठुला माछाले साना माछालाई खाने दाउ त हैन ?
दोहा– गैर आवासिय नेपाली संघका अध्यक्ष जिवानाथ लामिछानेसंगको अन्तर्कृयामा कतारवासी नेपालीले सामुहिक लगानीवारे विविध प्रश्न गरेका छन् ।
गैर आवासिय नेपाली संघका मध्यपुर्व संयोजक तथा सामुहिक लगानी सम्बन्धि कार्यदलका को–चेअर नरेन्द्र भाटको सभापतित्वमा नेपाली समुदायका अगुवा तथा एनआरएनए कतारका पुर्वअध्यक्ष कमलमणी गुरागाईले सो अन्तर्कृया प्रस्तुत गरेका थिए । एनआरएनए– एनसीसीका अध्यक्षअमृत गुरुङ्गले स्वागत मन्तब्यका क्रममा सामूहिक लगानीका अवधारणवारे चर्चा गर्दै त्यसको लागि तयारी गर्ने बताएका छन् । अन्र्तकृयाका सभापति भाटले खाडी क्षेत्रबाट आम सहभागिता भएमा सामुहिक लगानीको अभियान सफल हुने विश्वाससहित सामूहिक लगानीबारे भविश्यमा विभिन्न छलफल र अन्र्तकृयात्मक आयोजना गरिने बताए ।
गुल्मी सेवा समाजका निवर्तमान अध्यक्ष द्रोण बस्नेतले सामुहिक लगानीको विषय एनआरएनएमा पनि ठुलाले सानाबाट फाइदा लिने दाउ हो कि भन्ने जिज्ञासा राखे । ‘कतै यो ठूला माछाले साना माछा खाने दाउ त होईन ?’ उनको प्रश्न थियो ।
नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदीले न्यूनतम सिमा १ लाखलाई घटाएर २०–२५ पच्चिस हजारतिर ल्याउन सुझाव दिए । कर्पोरेट लगानीमा ५० जनाको समुहवारे राखिएको प्रस्तावमा लचिलो हुन उनको आग्रह छ । सामुहिक लगानीमा पर्यटन र कृषिलाई ध्यान दिन आग्रह गर्दै उनले श्रमिक रेमिट कम्पनीको अवधारणा पनि सामुहिक लगानी नै रहेको बताए । बाणिज्य वैंकहरुमा एनआरएन लगानी बढाउनुपर्ने उनको सुझाव छ ।
नेपाल पत्रकार महासंघ कतार सम्पर्क शाखाका अध्यक्ष कुमार कार्कीले तत्काल रोजगारीको सिर्जना हुन सक्ने क्षेत्रमा लगानीलाई प्रश्रय दिए बढी फाईदाजनक हुने बताए । साना तथा मझौला लगानीका क्षेत्रमा बढि केन्द्रित हुनसके मध्यपूर्ववाट बढि लगानी जाने उनको अनुमान छ ।
नेपाली जनसम्पर्क समितिका साकिर अलीले पैसालाई होईन सहभागितालाई श्रेय दिएमा बढि प्रभावकारी हुने बताए । अलिद्वारा शैक्षिक र प्राविधिक क्षेत्रमा लगानीको सुझाव छ । युवा अगुवा लक्ष्मण खतिवडाले संस्था दर्ता मूल चासोको विषय बनेको बताए । विना दर्ताको संस्थाको पार्षद सदस्य बनेर हिडनु पर्दा लज्जाबोध हुने अवस्था रहेको उनको भनाई थियो । ‘विश्वास हामीमाथि गर्नुभयो भने हामी पनि अझै बलियो विश्वास राख्नेछौं’ उनले भने– ‘६ महिना भित्र संस्था दर्ताको खुसी र गर्व गर्न पाउँ ।’
प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलमले सामुहिक लगानीको योजना कहिले शुरु हुने हो स्पष्ट पार्न आग्रह गरेका छन् । उनले वैंक ग्यारेन्टी र कम्पनी घाटा भए सरकारको के प्रतिकृया रहन्छ भन्ने जिज्ञासा राखे । अर्का वक्ता रमाजन अलि मियाँले मुस्लिमजन लगानीका लागि पछि पर्नुको कारण ब्याज रहेको बताए । ‘ब्याज मुस्लिमले लिँदैन’ उनले सोधे– ‘सामुहिक लगानीबाट अन्त्यमा आउने ब्याज हो की लभांश ?’
कास्की आदर्श सेवा समाजका राम प्रसाद गौतमले सरकारी उदासिनता र श्रम ऐन गतिलो हुन नसक्नु, मजदुरका यूनियन बन्ने र राजनिति गर्ने परिपाटीका कारण उद्योग धन्दामा लगानी हुन मुस्किल परेको अनुभव सुनाए । नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरी गैरेले कम तलब भएकोलाई पनि छुटाउन नहुनेमा सचेत गराए ।
एनआरएनएका भुतपुर्व मध्यपूर्व संयोजक वद्री प्रसाद पाण्डेले देशमै प्रशस्त पैसा रहेको तर सु–ब्यवस्था कायम हुन नसक्दा देश कमजोर हुँदै गएको आमजनमानसको धारणा रिपोर्टिङ गरे । ‘देश मै पैसा छ, तिमीहरुले विदेशवाट दश दश हजार जोडेर ल्याउनुपर्ने आवश्यकता छैन । समस्या सरकार, राजनिति र ब्यवस्थासँगको हो भन्ने जनधारणा छ’ उनले भने– ‘कुरा धेरै हदसम्म सहि पनि हो, तर हामीले पनि कर्तब्यबोध गर्नुपर्ने बेला आएको छ ।’
एनआरएनएका पुर्व–उपाध्यक्ष सागर नेपालले ‘एक थुकी सुकी सय थुकी नदी’ भन्ने उखानको उदाहरण दिँदै एनआरएनए सवैको साझा अभियान भएकोले सामुहिक प्रयासबाट मात्र सफलता हात लाग्ने बताए । ‘त्यसैले यो सामूहिक लगानीको अवधारण हाम्रो अभियान हो’ उनले भने– ‘अवरोधहरू धेरै भए पनि यसले देश र जीवन शैलीमा नै नयाँ परिवर्तन ल्याउन सक्छ ।’ एनआरएनको एकताले नेपालीका लागि सुखद नतिजा ल्याउन सक्ने विश्वास उनको रहेको छ । ‘विश्वासको वातावरण शुरु गरेपछि मात्रै बन्छ । पहिलै बनाएर शुरु हुन्छ भन्ने होइन’ उनको भनाई थियो । न्यून आयवाला नेपालीहरुलाई समेटेर लैजाने वातावरण बनाउने प्रयास हुने उनको तर्क छ ।
अन्तर्कृयाका प्रस्तोता कमलमणी गुरागाईँले सामुहिक लगानीकावारेमा प्रकाश पार्नुका साथै एनआरएनएको नागरिकतासंग सम्बन्धित विषयमा लामिछानेसंग जिज्ञासा राखे । ‘एनआरएनएलाई सरकारले सामाजिक र आर्थिक अधिकारसहितको मान्यता दिन तयार भएको समाचार पत्रिकामा पढेको थिएँ’ उनले सोधे– ‘तर हाम्रा अध्यक्षज्यूले त्यतिले पुग्दैन राजनितीक अधिकार पनि चाहिन्छ भन्नुभएको थियो रे ? राजनीतिक सअधिकार चाहिँ किन चाहिएको हो ?’ उनको जिज्ञासाको जवाफमा एनआरएनए आइसीसी अध्यक्ष लामिछानेले घुमाउरो जवाफ दिए । ‘पहिला दोहोरो नागरिकता भन्ने शब्द बोलिँदै आएकोमा हाल नेपाली नागरिकताको निरन्तरता भनिएको छ । एकपटकको नागरिक सधैंको नागरिक हुनुपर्छ भन्ने हाम्रो अडान हो’ उनले भने ।
अन्य जिज्ञासाहरूको क्रमिकरुपमा जवाफ दिने क्रममा लामिछानेले सानो माछाले ठूला माछालाई खाने प्रश्न नै नरहेको बताए । ‘सामुहिक लगानीमा १ करोड अधिकतम सिमा हो । त्यसैले कम्पनी कसैको पनि होल्डमा हुँदैन’ उनले भने । कम्पनीमा कुनै एक ब्यक्तिको ग्यारेन्टी नभई सवैको सहभागिता हुने उनले बताए । सामुहिक लगानीबाट प्राप्त हुने प्रतिफल ब्याज नभई लाभांस रहेको उनले बताए । पब्लिक लिमिटेड कम्पनी भएकोले लाखौ ब्यक्तिलाई समेटेर लैजाँदा ठुलो आकार हुने भएकोले पनि १ लाख र १ करोडको सिमा तोकिएको उनले बताए । तुरुन्तै रोजगार सिर्जना हुने काम पनि सामूहिक लगानीबाट हुने लामिछानेको जनाउ थियो । ‘खाडीको आर्जन उत्पादन क्षेत्रमा लगानी भएन भन्ने सुन्दै आएका छौ । त्यसैले पनि सानो कमाई समेत ठुला योजनामा लागोस् र मेरो यति ठूलो कम्पनीमा स्वमित्व छ भन्ने गर्व होस् र आत्माविश्वास बढोस् भन्ने पनि एनआरएनएको चाहना हो’ उनले भने ।
एउटै १ सय मेघावाटको नभई २५ देखि ३० मेघावाटका चार÷पाँच वटा परियोजना बनाउन पाए हरेक क्षेत्रमा पुग्थ्यो कि भन्ने सहकर्मीहरूको सुझाव रहेको पनि उनले जनाए । ‘कमर्सियल कम्पनी भएकोले उचित विकल्पको अध्ययन हुनेछ’ उनले भने । लगानी संरक्षण सरकारवाट पनि गराउन सकिने उनले बताए । उनी नेपालको लगानी बार्डमा पनि सदस्य रहेका छन् ।
हाईड्रोमा काम गरेको १०–१२ बर्षको अनुभव रहेको चर्चा गर्दैै उनले यो परियोजना सफल हुने विश्वास जनाए । ‘सामान्य वाधा अड्चन त जहाँपनि हुन्छन् तर जहाँपनि छलफलवाट समाधानका बाटा निस्कन्छन्’ उनले भने– ‘कमसे कम एउटा कामवाट शुरु गरौ भनेर हाईड्रोको कुरा गरेका हौ । यो सफल होस अनि अरु अझै बढी गरौंला ।’