Responsive Ad Slot

latest

आत्मालाई शान्ति दिने चित्र I

Friday, March 30

/ by Admin BHOLA THAPA

काठमाडौँ, १७ चैत । कलाकार कृष्णप्रकाश शाहको ‘मेरा चित्रः अन्तरभावना र अनुभूतिहरूका प्रस्तुतिहरू’ शीर्षक चित्रकला प्रदर्शनी समयावधि बढाइएको छ ।

अमूर्त विधासँग सम्बन्ध राख्ने विभिन्न ५० समसामयिक चित्र प्रदर्शनीमा राखिएका छन् । यही चैत ४ गतेदेखि एकसातासम्म नेपाल कला परिषद् बबरमहलमा गरिएको सो प्रदर्शनीमा दर्शकको सहभागिता बढेको र विभिन्न दर्शकबाट समय थप गर्ने माग भएपछि पुनः नौ दिन थपेर यही चैत २० गतेसम्म पु¥याइएको छ ।

सल्यानका ४० वर्षीय कलाकार शाह भन्नुहुन्छ– ‘मेरा चित्रका विषयवस्तु दृष्यवत् वास्तविकतामा आधारित नभएर अन्तरमनका भावना हुन् जसले सिधै आत्मासँग सम्बन्ध राख्दछ ।’ करिब पाँच सय वर्षअघिका ऋषिमहर्षिले पनि प्रचुर मात्रामा अन्तरमनको परिकल्पना गरी चरम सुख, शान्ति कायम गरेको चिन्तनबाट उहाँ निर्देशित हुनुहुन्छ ।
–ः ५ ः–

उहाँले थप्नुभयो– मानव जीवनको अन्तिम लक्ष्य भनेकै जीवनमा सुख, शान्ति र परमानन्द प्राप्त गर्ने हो, त्यसैले रहस्यले भरिएको संसारमा मेरो अज्ञानलाई हटाउन मैले अमूर्त विधा रोजेँ ।

छ वर्षदेखि नै चित्र सिर्जनामा रमाउने शाहको विद्यालय शिक्षा कैलालीको टीकापुरबाट विसं २०४८ मा पुरा भएको हो । त्यसपछि उहाँले नेपाल ललितकला क्याम्पसमा पाँचवर्ष अध्ययन गरी ‘क्रिएसन कम्पोजिसन’ को विषयमा स्नातक भई त्रिविबाट पहिलोपटक सञ्चालित कलाकारिता विषयमा स्नातकोत्तर तहमा पहिलो ब्याचबाट अध्ययन पुरा गर्नुभयो । देशका विभिन्न स्थानमा विभिन्न समयमा हुने गरेका समूहगत कला प्रदर्शनीमा एक दर्जनभन्दा बढी सहभागी भए पनि एकल कला प्रदर्शनी भने यो दोस्रो पटक हो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धर भन्नुहुन्छ, ‘अमूर्त चित्रको सिर्जना गर्न धेरै साधनाको खाँचो हुन्छ, शाहका कलामा प्रयोग भएका विभिन्न रङको संयोजन सशक्त छ ।’

कलाकार रमेश खनाल मूर्तकलाको गहिरो सम्बन्ध अध्यात्मसँग हुने गर्छ, तर अमूर्त कलाका सर्जकले जीवनको सुख, शान्ति, आनन्दमात्र नभएर परमात्मालाई साक्षात्कार गरी परमानन्दको अनुभूति गर्न सक्ने बताउनुहुन्छ । ‘शाहका चित्र त्यसैका नमुना हुन्’–चलचित्र समीक्षक समाजका अध्यक्ष खनाल भन्नुहुन्छ ।

अधिकांश चित्रमा तेल र एक्रेलिकको प्रयोग हुनाका साथै रातो, कालो, निलो, पहेंलो, हरियो लगायतका पृथक पृथक रङको मिश्रण छ । रु दुई लाख १० हजारको मूल्य रहेको चित्रमा टेक्स्चर, फ्लोर, प्यार्ज, स्ट्रक लगायतका सामग्री सहितका नयाँ प्रविधिको पूर्ण उपयोग गरी ‘थ्रि डाइमेन्सन’मा तयार गरिएको हो । चित्रको फरक फरक नाम दिइएको छैन । जीवनका विभिन्न चरणमा हृदयदेखि नै प्राप्त गरेको भावनालाई चित्रमा सशक्त ढङ्गले प्रयोग गरी अत्यधिक खुसी र सुखको अभिव्यक्ति दिनका लागि सबैलाई एउटै मूल शीर्षकबाट सजाइएको छ ।

प्रदर्शनीमा घुम्न आएका वीरेन्द्र भण्डारीले लोभ, इष्र्या लगायतका सांसारिक मोहबाट टाढा रहन सकेमा हृदयदेखि नै आत्मालाई शान्त पार्न सकिने अनुभूतिको सन्देश ती चित्रले आफूलाई दिएको प्रतिक्रिया दिनुभयो । प्रदर्शनीमा रु १८ हजारदेखि रु दुई लाख १० हजारसम्मका चित्र राखिएका छन् । सो प्रदर्शनीको अहिलेसम्म पाँच हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेको र झन्डै रु ६ लाखका विभिन्न १७ चित्र बुकिङ भइसकेको बताइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI