Responsive Ad Slot

latest

अवैध भारतीय डीस हटाउन निर्देशन

Sunday, July 1

/ by Admin BHOLA THAPA
इलाम, असार १७ । सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतीय डिक्सको प्रयोग बढ्न थालेपछि त्यस्ता डिक्स हटाउन सीमा प्रशासन पशुपतिनगरले पहल थालेको छ । भारतीय डिक्सका कारण नेपालमै बनेका डिक्सको प्रयोग कम हुन थालेपछि सीमा प्रशासनले भारतीय डिक्स हटाउने कार्य थालेको सीमा प्रशासनले जनाएको छ । सीमा प्रशासन पशुपतिनगरले अवैध रूपमा जडान गरिएका डिक्स एक महिनाभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

सीमा क्षेत्रबाट गोर्खे, जोगमाई, पशुपतिनगर, श्रीअन्तु, समालबुङ, फिक्कल, नयाँबजार, प्याङ, जमुनालगायतका दर्जनभन्दा बढी गाविसमा टिभी हेर्नका लागि भारतीय डिक्सको प्रयोग हुँदै आएको छ । सस्तो र सरल तरिकाले उपलब्ध हुने भएकाले उपभोक्ताले भारतबाट डिक्स खरिद गरेर ल्याउने गरेका छन् । एक महिनाभित्र अवैध डिक्स हटाउन सूचना जारी गरिएको छ,’ सीमा प्रशासनका निमित्त प्रमुख राजु चौधरीले भन्नुभयो–‘तोकिएको समयभित्र नहटाइए प्रशासनले कारबाही प्रक्रिया सुरु गर्नेछ र त्यस्ता डिक्ससमेत जफत गर्न सक्नेछ ।’

भारतीय डिक्सका कारण भन्सार राजस्वसमेत प्रभावित भएको छ । यस्ता अवैध डिक्सले नेपाली डिक्सको प्रयोग कम गरेकाले राजस्व सङ्कलनमा असर पुगेको हो । सीमा क्षेत्रमा करिब पाँच हजारको सङ्ख्यामा भारतीय डिक्स छन् । डिक्स बिक्रेताका अनुसार अवैध भारतीय डिक्स हटाउन सकेमा १० हजारभन्दा बढी नेपाली डिक्स प्रयोग हुने र राजस्वसमेत बढ्ने बताउँछन् ।

भारतीय डिक्सको प्रतिसेट एक हजारदेखि दुई हजारसम्म भारतीय रुपैयाँ तिर्नुपर्ने र १०० देखि ३०० सम्म मासिक रिचार्ज गर्नुपर्ने बिक्रेता भीष्म सुवेदी बताउनुहुन्छ । तर यसको तुलनामा नेपाली डिक्स तीन हजार रुपैयाँ बढी पर्न आउँछ । अर्थात् नेपाली डिक्स प्रतिसेट पाँच हजारदेखि ६ हजारसम्म र च्यानल हेर्न २५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसले गर्दा भारतीय डिक्स नै उपभोक्ताको रोजाइ बन्ने गरेको सुवेदीको भनाइ छ ।

नेपाली डिक्स बजारमा सहज रूपमा उपलब्ध हुन थालेकाले उपभोक्ताले भारतीय डिक्स हटाएर नेपाली डिक्स नै प्रयोग गर्नुपर्ने बिक्रेताहरु बताउँछन् । विभिन्न सेवासुविधा उपलब्ध गराएर भए पनि भारतीय डिक्सको प्रयोग हटाउन सकिने बिक्रेताले बताएका छन् । सीमा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी अवैध भन्सार नाकाका कारण उपभोक्ताले सहजै भारतीय डिक्स भित्र्याउने गरेका छन् । भन्सार शुल्क नतिरी अवैध तरिकाले डिक्स ल्याउँदा भन्सार कार्यालयमा राजस्व सङ्कलनसमेत प्रभावित बन्ने गरेको छ । सीमा क्षेत्रबाहेक पनि जिल्लाका विभिन्न बजार र ग्रामीण इलाकामा समेत भारतीय अवैध डिक्सको प्रयोग हुँदै आएको छ ।
श्रोत एनएम खबर
Don't Miss
© all rights reserved
made with by netKUTI