पैसा दिएर श्रीमतीलाई बलात्कार गरी हत्या गर्न लगाउने श्रीमानलाई जिल्ला अदालत मकवानपुरले ३५ वर्ष कैद गर्ने फैसला गरेको छ। श्रीमतीको हत्या गर्न आदेश दिएको र योजना बनाएको ठहर गर्दै छतिवन ९ का ३८ वर्षीय सेतेमान बललाई कैद गर्ने फैसला गरेको हो। घटनामा संलग्न तीन युवक राजेन्द्र भोलन, गणेश घेवा र चेतबहादुर भोलनलाई जनही ४४ वर्ष कैद गर्ने फैसलासमेत गरेको छ।
हत्या गर्न आदेश दिएकोमा २० वर्ष र योजना बनाएकोमा १५ वर्ष गरी ३५ वर्ष कैद गर्न श्रीमानलाई जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले फैसला गरेको अदालतले जनायो। २०६८ असोज ६ गते श्रीमती ठूलीकान्छी एक्लै घरमा सुतिरहेको अवस्थामा पति सेतेमान बलले गणेश, राजेन्द्र र चेतबहादुरलाई मादक पदार्थ सेवन गराई हत्या गर्न पठाएका थिए। सेतेमान बलसहित ४ जना भीमफेदी कारागारमा छन्।
डिसीनेपाल डटकम सम्वाददाता