काठमान्डौ असार १८ गते ।  संविधानसभाको 
विघटनपछिको राजनीतिक परिवेशको बारेमा छलफल गर्न सत्तारुढ दल एकीकृत माओवादी
 र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको 
सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा आगामी आर्थिक 
वर्षको बजेट ल्याउन सरकारले गरेको तयारी, विपक्षी दलहरुको विरोध तथा 
दलहरुबीचको सहमतिको प्रयासको बारेमा छलफल हुनेछ ।
आगामी आर्थिक वर्षको लागि पूर्ण आकारको 
बजेट ल्याउन सरकारले तयारी गरेको भए पनि राष्ट्रपति डा रामबरण यादवले 
दलहरुको सहमतिमा मत्र बजेट ल्याउन आग्रह गरिसक्नु भएको छ । राष्ट्रपतिको 
यस्तो आग्रह र विपक्षी दलहरुको विरोध कायमै रहेपछि उत्पन्न समस्या समाधान 
गर्ने बारेमा पनि आजको बैठकमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले 
जनाएको छ । बैठकमा सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका राजकिशोर 
यादवलाई उहाँको पार्टीले हटाएको बारेमा पनि कुराकानी हुने बताइएको छ ।
 
