२ फागुन काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्यबृद्धि फिर्ता लिएको छ । दोहोरो मूल्य तत्काल कार्यान्वयन नगर्ने सरकारी निर्णयपछि ग्यासको पुरानै मूल्य कायम भएको छ ।
मूल्यवृद्धिको चर्को विरोध भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार वाणिज्य सचिव र आयल निगमका अधिकारीहरुलाई बोलाएर आवश्यक तयारीविना नै मूल्य बढाएको भन्दै तत्काल कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।
लगत्तै प्रधानमन्त्रीले आफ्नो टि्वटरमा ‘आवश्यक पूर्वतयारीको अभावमा ग्यासको दोहोरो मूल्य कार्यान्वयन रोकिएको छ’ भनी ट्वीट गर्नुभएको छ । यस्तै निगम सञ्चालक समितिको बैठक बसेर मूल्यबृद्धि फिर्ताको निर्णय गरेको छ ।
घरेलु प्रयोजन र व्यवसायिक प्रयोजनका लागि छुट्टा-छुट्टै मूल्य र सिलिण्डर कायम गर्ने तयारी भइरहेका बेला आयल निगमले तयारी नै पूरा नभई मूल्य सार्वजनिक गरेको भन्दै प्रधानमन्त्रीले वाणिज्य सचिवसँग आक्रोश पोख्नुभएको स्रोत बताउँछ । शुरुमा प्रधानमन्त्रीले मूल्यवृद्धिले जनतालाई मर्का नपर्ने भन्दै ट्वीटरबाटै निगमको निर्णयलाई बचाउने प्रयास गर्नुभएको थियो । तर, मूल्यवृद्धिको विरोधमा चर्को आवाज उठेपछि प्रधानमन्त्री भट्टराईले सम्वन्धित अधिकारीहरुलाई कार्यालयमा बोलाउनुभएको थियो । तत्कालका लागि यो निर्णय रोक्न निर्देशन दिनुभएको बुझिएको छ ।
आयल निगमले दोहोरो सिलिण्डर र कार्ड वितरण नहुँदै दोहोरो मूल्य बढाएको थियो । नियमले ग्यासको मूल्य ६ सय ३० रुपैयाँ बढाएर घरायसी प्रयोजनका लागिप्रति परिवार महिनामा एक सिलिण्डरमा ५ सय ५० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । सुरुमा बढेको मूल्यअनुसार २१ सय रुपैयाँ नै तिर्नुपर्ने र पछि बैंकमार्फत फिर्ता लिनुपर्ने नियमको व्यवस्था थियो ।
तर, बजारमा दुई रंगको सिलिण्डर छैन भने अधिकांश उपभोक्ताले कार्डसमेत पाएका छैनन् । नियमका एक अधिकारीका अनुसार राजधानीका ७ लाख उपभोक्ता मध्ये ६० हजारले मात्र कार्ड पाएका थिए ।
किन भयो हतारमा निर्णय ?
निगम श्रोतका अनुसार सञ्चालक समितिको बैठकमा चार महिनाभित्र कार्ड वितरण सक्ने र दुई रंगको सिलिण्डर व्यवस्था गरेर मात्रै दोहोरो मूल्य निर्धारण गर्ने प्रस्ताव पेश भएको थियो । तर, सरकारका मूख्य सचिव लीलामणि पौडेलसहितका केहीको दबावमा हठात निर्णय गरेको स्रोतको दावी छ । ‘तयार त नपुगेकै हो’ एक अधिकारीले अनलाइनखरसँग भने-’विज्ञहरुले ४ महिने तयारी गरेर मात्र दोहोरो मूल्य कायम गर्ने प्रस्ताव गरेका थिए । तर, केहीको दबावमा यस्तो भएको हो ।’
विद्यार्थीको आन्दोलन
मूल्यबृद्धि फिर्ता हुनुअघि विभिन्न दलसम्बद्ध विद्यार्थीहरुले प्रदर्शन र चक्काजाम गरेका थिए । बाल्मिकी क्याम्पसमा बसेको ११ विद्यार्थी संगठनको संयुक्त बैठकले २४ घण्टे अल्टिमेटम दिँदै उपत्यका बन्दसम्मका कार्यक्रम घोषणा गरिसकेको थियो भने विभिन्न दलले विज्ञप्ति जारी गरेर मूल्य बृद्धिको विरोध गर्दै फिर्ता लिन माग गरेका थिए ।