३ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन १३ सदस्यीय नेपाली भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई न्यूयोर्क आइपुग्नुभएको छ । स्थानीय समयअनुसार सोमबार अपरान्ह ३ बजे अर्थात नेपाली समयअनुसार मंगलबार बिहान करिव १ बजे प्रधानमन्त्रीसहितको टोली न्यूयोर्कको जोन अफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलमा आइपुग्नुभएको हो । प्रधानमन्त्रीसहितको टोलीलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि तथा अमेरिका लागि नेपाली राजदूत लगायतका अधिकारीले बिमानस्थलमा स्वागत गर्नुभयो । म्यानहाटनस्थित होटल ह्यातमा रहनुभएका प्रधानमन्त्रीले नेपाली समयअनुसार आज राती ८ बजेबाट महासभामा सहभागीता जनाउनुहुने छ । महासभाका क्रममा प्रधानमन्त्री भट्टराईले बिभिन्न अन्तराष्ट्रिय फोरमहरुलाई सम्बोधन गर्नुका साथै बिभिन्न मुलुकका सरकार प्रमुख, बिदेशमन्त्री तथा राष्ट्रप्रमुखहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सेप्टेम्बर २४ तारिखमा महासभालाई सम्बोधन गर्नुहुने प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री, राष्ट्रसंघका महासचिव, चिनियाँ प्रधानमन्त्री लगायतलाई भेटने कार्यक्रम रहेको न्युर्योक स्थित नेपालको संयुक्त राष्ट्रसंघीय मिसन कार्यालयले जनाएको छ ।