Responsive Ad Slot

latest

कार्यवाहक प्रधानमन्त्री गच्छदार मनकामना पुगे

Thursday, November 10

/ by Krishna Neupane

मनकामना, कार्तिक २४ - कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार बिहीबार दलबल सहित मनकामना दर्शनका लागि पुगेका छन् । मनकामना दर्शनपछि सञ्चारकर्मीसंग कुरा गर्दै गच्छदारले मुलुकमा शान्ति र समयमै संविधानका लागि मनकामना मातासंग प्रार्थना गरेको बताए । उनले भने–‘मनकामना माता शक्तिशाली हुनुहुन्छ त्यसैले शान्ति र संविधानका लागि प्रार्थना गरे ।’

त्यसवाहेक उनले आफू गृहमन्त्री समेत रहेकाले आफ्नो कार्यकालमा सुुरक्षा व्यवस्था सुदृढ रहोस भनेर समेत प्रार्थना गरेको बताए । ‘विगतका गृहमन्त्रीको भन्दा मेरो कार्यकाल सफल रहोस र गृहमन्त्रीका रुपमा मेरो छवी राम्रो बनोस’,भनेर व्यक्तिगत माग पनि गरेको उनले बताए ।

उनले सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने विषय यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा नै मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा आएको भन्दै अहिले माओवादी नेतृत्वको सरकार भएकाले त्यसलाई पारित गर्नु स्वभाविक रहेको बताए । उनले कुनै पनि निर्णय गर्दा त्यो वाद विवादमा पर्न सक्ने भन्दै यस विषयमा प्रधानमन्त्री स्वदेश फर्किएपछि ‘क्याविनेट’ मा पुर्नविचार गरिने बताए ।

अपूरो रहेका मन्त्रालयमा मन्त्री नियुक्त गरिएको र मन्त्रिपरिषद् विस्तार संविधान तथा कानुन अनुसार नै रहेकाले यसलाई विवादको विषय बनाउन नहुने उनको जिकिर थियो । अर्को प्रसंगमा उनले दुई वर्षदेखि सरुवा हुन नसकेको प्रहरी निरीक्षकहरुको सरुवा एक साता भित्र गरिने जानकारी दिए । सबै मापदण्ड तयार भइसकेको छ पारदर्शी ढंगले सरुवा गरिने छ उनले भने । परिवार तथा आफ्ना सहयोगी कर्मचारी समेत ४० जनाको टोली सहित उनी मनकामना दर्शनका लागि पुगेका हुन् । उपप्रधान तथा गृहमन्त्री रहेका गच्छदार प्रधानमन्त्री बाबुराम भट्टराई सार्क सम्मेलनमा भाग लिन माल्दिभ्स गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका छन् ।

मध्यमाञ्चलका प्रहरी नायव महानिरीक्षक विरेन्द्रवावु श्रेष्ठ लगायत उच्च सुरक्षा अधिकारीहरु पनि मनकामना पुगेका छन् । मनकामनामा सेना,जनपथ र सशस्त्र प्रहरी परिचालित छन् । मन्दिरमा तान्त्रिक पूजा भइरहेका कारण करिब ढेड घण्टाको प्रतिक्षापछि गच्छदारले मन्दिरमा दर्शन पाएका छन् । उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI