
प्रधानमन्त्री भट्टराईले अड्डुस्थित साङ्ग्रिला रिजोर्टमा प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का राष्ट्रपति महेन्दा राजपाक्षसँग भेटवार्ता गरे । त्यस अवसरमा दुुई नेताबीच सार्कको सुदृढीकरण, द्विपक्षीय सम्बन्ध विस्तारका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले संविधान लेखन र शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन हालै प्रमुख दलहरूबीच भएको सातबुँदे सम्झौताबारे जानकारी दिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार यत्तिखेर प्रधानमन्त्रीले भुटानका प्रधानमन्त्री लोन्चेङ जिग्मी योसेर थिन्लेसँग वार्ता गरेका छन् ।
प्रधानमन्त्रीले इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री सइद युसुफराजा गिलानी, अफगानिस्तानका राष्ट्रपति हमिद कार्जायी र जनगणतन्त्र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आजै अपराह्न हिथाडो सम्मेलन केन्द्रमा आयोजना हुने १७औँ शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
माल्द्विभ्सका राष्ट्रपतिसंग भेटवार्ता
प्रधानमन्त्री भट्टराईले बुधबार राति माल्द्विभ्सका राष्ट्रपति मोहम्मद नसिदसंग माल्द्विभ्सको अड्डुमा भेटवार्ता गरे ।
भेटमा सार्कलाई कुरा गर्ने थलो भन्दा पनि सर्वपक्षीय हितका निम्ति काम गर्ने ठाउँको रूपमा विकास गर्ने विषयमा सहमति भयो । प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार दुबै देशमा दूतावास नभएकाले कूटनीतिक प्रयासमा अड्चन देखिएको भन्दै दुबै पक्ष आ–आफ्नो देशमा राजदूतावास स्थापना गर्न सहमत भएका थिए । भेटमा नेपाल र माल्द्विभ्सबीच सिधै हवाई सम्पर्कका लागि उच्चस्तरीय छलफल गरी तत्काल कार्यान्वयन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ ।
त्यस्तै, दुई देशबीच पर्यटन र व्यापार बिस्तारका प्रचूर सम्भावना रहेकाले यसका लागि ‘प्याकेज’ बनाएर अघि बढ्न राष्ट्रपति नसिद र प्रधानमन्त्री भट्टराई सहमत भएको बुझिएको छ ।
प्रधानमन्त्री भट्टराईले राष्ट्रपति नसिदलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरे । प्रत्युत्तरमा राष्ट्रपति नसिदले प्रधानमन्त्रीको प्रस्तावको सहर्ष स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिए ।