Responsive Ad Slot

latest

स्वामी हरिदासजी र वेदव्यासका कुरा

Wednesday, November 30

/ by Admin BHOLA THAPA
पवन पौडेल

सन्दर्भःवेदव्यासको १ सय ८ फिट अग्लो मुर्ति निर्माण महायज्ञ
राधा माधव सेवा समितिको आयोजनामा तनहुँको सदरमुकाम दमौलीमा सन्चालित स्वामी हरिदासजीको दार्शनिक प्रवचन सकिएको केही दिनमात्र भएको छ । तर त्यसले छाडेको तरंग भने लामै समयसम्म रहने पक्कापक्की भएको छ । दमौलीमा हालसम्म आयोजना भएका आध्यायत्मिक कार्यक्रमहरुमध्येकै बाक्लो उपस्थिती बनाउन सफल भएको सम्भवतः यो पहिलो कार्यक्रम हुनसक्छ । विशेषगरी चालिस कटेका र वृद्ध अवस्थामा नै पुगेका भएपनि कार्यक्रममा श्रद्धालुहरुको आस्था राम्रो पाइएको अनुभव गरियो । अहिलेका युवा वर्गमा पनि आध्यायत्म प्रति आस्था कायमै रहेको चर्चा पनि दमौली आसपमासमा चल्यो । हिन्दु सनातन धर्मप्रति विश्वास गर्ने कतिपयलाई स्वामीजीको प्रवचनले आफ्नो आस्थामा अडिग रहन मद्धत पनि पुर्याएकै होला ।

तर जब स्वामिजीको प्रवचन सकिंदै जान थाल्यो तब मात्र त्यसका बिषयमा टिकाटिप्पणी विभिन्न कोणबाट हुन थाले । अझ भनौं स्वामी दमौलीबाट वीदा भएपछि त यसले ठुलो टिकाटिप्पणीको सामना गर्नुपर्यो । त्यसको मुख्य कारण थियो स्वामीजीले प्रवचनमा आँफैले दिएको प्रवचनको आँफैद्धारा ठाडो उल्लंघन । स्वामीजिको प्रवचन सुनेर उत्साहित भएका उहाँका श्रद्धालुहरु त्यतिबेला असमन्जस्यमा परे जब उहाँले आफ्नै महावाक्यको उल्लंघन गर्नुभयो । त्योपनि आम श्रद्धालुमाझ नै ।

 दान गोप्य हुनुपर्छ र नामका लागि हैन कामका लागि दान दिनुपर्छ भन्ने महावाक्य दिने स्वामीजीले दमौलीमा राधामाधव सेवा समितिको ्रटष्ट संरचना भएको भवन केही समयका लागि आफ्नो जग्गामा राख्न दिने एक पुर्वमन्त्रीको नाम बडो उत्साहपुर्वक वाचन गर्नुभयो र सोवापत ती मन्त्रीलाई समितिको जिल्ला शाखाको शंरक्षक पदमा नै नियुक्ति दिनुभयो,त्यसबेला सबै आश्चर्यमा परे ।

 सो भवन नि र्माणका लागि दमौलीका धेरै व्यवसायिले स्तर हेरी १० हजार देखि डेढ लाखसम्म दान गरेको चर्चा सुनेका दमौलीबासीले तिनको नाम उच्चारण नभएको भन्दा पनि जसले केही समयका लागि भाडा विना जग्गा दिनेको नाम सगर्व उच्चारण भएको सुन्दा आश्चर्य मान्नुलाई अस्वभाविक रुपमा लिने पनि कसरी ? कतिपयले यसलाई ठुलै ईशारामा छवि धुमिलिएका व्यक्तिलाई माथि उठाउने काम भने भने कतिपयले कुने नामोनिशान मेटिएको संस्थालाई व्युँताउन देशव्यापी रुपमा थालिएको गुप्तकार्य भने ।

तर यो भन्दा पनि ठुलो दुख र आश्चर्य दमौली र तनहुँबासीले मान्नुको कारण अर्कै छ । महाभारत र अठार पुराणको रचना गर्ने महर्षि कृष्णद्धैपायन वेदव्यासको १ सय ८ फिट अग्लो मुर्ति निर्माणको काम दार्शनिक प्रवचनभन्दा निकै अघि घोषणा गरिएको र निकै महत्वाकांक्षी योजना हो । भलै स्थानियस्तरबाट नै सबै काम पुरा नहुन सक्ला तर स्थानियको उत्साहलाई कदर गर्न र राष्ट्रिय सम्पदाको विकास गर्न महायज्ञपछि हुने निर्माणकार्यले दबाव दिने भने पक्कै विश्वास लिन सकिन्छ । 

दमौली बजार सानो छ र यहाँ दाता तथा समाजसेवीका रुपमा चिनिएका सबैले दार्शनिक प्रवचनकै क्रममा सुनिएअनुसार ठुलै परिमाणमा दान दिएपछि उहाँहरु व्यासको पावन कार्यमा दान दिन पनि तयार हुनुहोला भन्ने यक्ष प्रश्न खडा भएको छ । यदि दार्शनिक प्रवचन र वेदव्यासको महायज्ञसंग कुनै सम्बन्ध छैन र व्यासको महायज्ञमा पनि राधामाधव सेवा समितिको भवन निर्माणमा झैं उत्साहजनक सहयोग दमौलीका व्यापारीव्यवसायीबाट भयो भने यसमा कुनै संका गर्नुपर्ने ठाउँ रहँदैन र हुन्न पनि । तर त्यसको विपरित उहाँहरुबाट सहयोग र सदासयता भएन भनेचाहिं उहाँहरुमाथि प्रश्न उठ्नुलाई अस्वाभाविक मान्न सकिन्न ।

यो कुरा किनपनि भनिएको हो भने वेदव्यासको प्रस्तावित शंरचना दमौलीमा निर्माण हुने हो भने यसले सोझो रुपमा धार्मिक पर्यटकीय स्थलको रुप लिई जिल्लाकै व्यापार व्यवसायमा फाईदा दिने पक्का छ । हामी र हाम्रा भविष्यका सन्नति तथा समग्र देशकै भविष्य जोडिएको यस कार्यमा अहिले हामीले चाहेजति सहयोग जुटाउन सकेनौं र महायज्ञले सफलता पाएन भने भविष्यमा हामी सबै आलोचनाको सिकार हुने कुरालाई नकार्न सकिन्न ।
 त्यसैले अहिले जहाँ जेजस्तो सहयोग दमौलीका व्यापारी,समाजसेवीबाट राधामाधव सेवा समितिलाई भएको छ त्यस्तै सहयोग महायज्ञ र व्यासको १ सय ८ फिट अग्लो मुर्ति निर्माणमा भयो भने उहाँहरुमार्थि लाग्न आरोप र आशंका स्वतः हट्नेछ । त्यसैले मन वचन र कर्मले यो महत्वाकांक्षी पावन कार्यमा सहयोग गरौं ।
लेखक प्रेस युनियन तनहुँका सचिव हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI