काठमाडौँ,
कात्तिक २३- पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले नेपाल वायुसेवा निगमभित्रको अनियमितता, भ्रष्टाचार तथा कमिसनखोरका विरुद्ध तत्काल कडा कदम चाल्ने बताउनुभएको छ ।
मन्त्री विष्टले पर्यटन क्षेत्रसँग सम्बन्धित पत्रकारहरु सँगको भेटघाट तथा शुभकामना आदानप्रदानका क्रममा भ्रमण वर्ष २०११ को विज्ञापन प्रसारण गर्न विदेशी टेलिभिजन च्यानल सिएनएन तथा विविसीमा तत्काल पहल गर्ने, पर्यटन वोर्डको कार्यकारी प्रमुखमा सक्षम एवम् सवल व्यक्तिलाई ल्याउने बताउनुभयो ।
निगमलाई के कस्तो जहाज चाहिने टुङ्गो लिई जहाज खरिदमा देखिएका समस्यालाई समाधान गरी तत्काल खरिद प्रक्रिया सुरु गरिने तथा पहाडी क्षेत्रका विमानस्थलको बारेमा रणनीति बनाएर तत्काल काम थालिने मन्त्री विष्टले जानकारी दिनुभयो ।
मन्त्री विष्टले हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साघँुरो भएकोले व्यवस्थित गर्न पहल गरिनुका साथै बारामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थलको प्रक्रिया तत्काल थालिने जानकारी दिनुभयो ।
उहाँले निगमको अनियमितता, भ्रष्टाचार र कमिसनखोरविरुद्ध तत्काल कडा कदम चालिने तथा यात्रुहरुले टिकट खोज्दा प्याक भएको जानकारी पाउने तर जहाज सिट खाली उडाउने किन भइरहेको छ सो को अनुसन्धान गरिने बताउनुभयो । उहाँले जहाजको पाङ्ग्रा हराएको सम्बन्धमा विभागीय प्रमुखलाई आजै स्पष्टीकरण सोधिने बताउनुभयो ।