सृजना राना
काठमाण्डौँ, पुस १५ गते
संवैधानिक समिति अन्तर्गत गठित विवाद समाधान उपसमितिले राज्यपुनर्संरचना बाहेक भावी संविधानका सबै विषयमा सैद्धान्तिक सहमति कायम गरेको छ । संविधानसभा सचिवालय सिंहदरबारमा आज बिहान बसेको उपसमिति बैठकले सबै विषयमा सहमति जुटाएको संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।
सद्भावना सभासद् लक्ष्मणलाल कर्णको संयोजकत्वमा रहेको कार्यदलले दिएको सुझाव अनुमोदन गर्दै उपसमितिले विवादित विषयमा सहमति जुटाएको हो ।
स्रोतका अनुसार उपसमितिले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री रहने संसदीय राष्ट्रपतीय प्रणालीमा आधारित शासकीय स्वरुपमा सहमति कायम गरेको छ । राष्ट्रपतिका हरेक निर्णय संसदले अनुमोदन गर्ने तथा केही कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिन उपसमितिले प्रस्ताव गरेको थियो ।
बैठकमा सहभागी काङ्गे्रस संसदीय दलका उपनेता प्रकाशमान सिंहले भने शासकीय स्वरुपमा छलफल बाँकी रहेको बताउनुभयो ।
संविधानमा असंशोधनीय विषयको सूचीबारे भने दलहरुबीच थप छलफल गर्ने सहमति भएको छ । असंशोधनीय विषयको सूची नै राख्नु नपर्ने माओवादीले तर्क गरेको छ भने, काङ्गे्रस एमालेलगायतका दलले लोकतन्त्रलगायतका विषय असंशोधनीय राख्नुपर्ने बताएका छन् ।
आज सहमति भएका विषय भोलि संवैधानिक समितिमा पेश गरेपछि मात्र सार्वजनिक गर्ने नेताहरुले बताएका छन् । उपसमितिमा भएको सहमतिसँगै आगामी जेठ १४ मै संविधान बन्ने आधार तयार भएको संयोजक प्रचण्डले प्रतिक्रिया दिनुभयो ।