भूषण यादव,
वीरगन्ज, पुस १४ - सस्तो मोलमा महँगा गाडी चढ्ने चाहन छ ? उपाय सजिलो छ । पहिला भारतबाट चोरीका गाडी भित्र्याएर महत्त्वपूर्ण पार्टपुर्जा झिकेर गाडीको बाहिरी भाग भन्सार वा राजस्व अनुसन्धान कार्यालयमा पुर्याउने व्यवस्था मिलाउने । अनि त्यही गाडी सस्तो मोलमा लिलाम सकार्ने । झिकेका पार्टपुर्जा जोडजाड पारेर नयाँ गाडी चढ्ने ।

लिन्छन् । केही गाडीचाहिँ साँच्चिकै चोरी भएका हुन् । यहाँका अधिकांश प्रभावशाली नेता, अवैध व्यवसायीले यस्तै गाडी प्रयोग गरेको प्रहरीको भनाइ छ ।
वीरगन्ज आसपासका बजारमा यसरी गाडी चढ्ने प्रवृत्ति बढेको छ । २ सय २५ प्रतिशत राजस्व तिर्नुपर्ने कारण चारपांग्रे सवारी साधनको मोल अत्यधिक भएकाले यस्तो धन्दा मौलाएको हो । भारतबाट चोरीका गाडी ल्याएर नेपालमा बेच्ने धन्दामा दुवैतिरका गिरोह सक्रिय छन् ।
पथलैयास्थित राजस्व अनुसन्धान विभागको क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष ४० वटा सवारी साधनको लिलाम गरेको थियो । यसपालि कात्तिकसम्म १३ वटा गाडी लिलाम भइसकेका छन् । कार्यालय प्रमुख सूर्य सेढाईंका अनुसार गत वर्ष गाडी लिलामबाट ३ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू वर्षको कात्तिकसम्म १ करोड २८ लाख रुपैयाँ संकलन गरिएको छ ।
पछिल्ला चार महिनामा पर्सा प्रहरीले चोरीका जिप १४, कार ६, ट्रक ५ र मोटरसाइकल ४४ गरी ७२ वटा सवारी साधन बरामद गरी वीरगन्ज भन्सारमा बुझाइसकेको छ । एसपी रमेश खरेल आउनासाथ गत असारमा प्रहरीले २५ वटा गाडी बरामद गरेको थियो ।
नियमित जाँचका क्रममा कागजात नमिलेर, शंका लागेर तथा सुराकीको आधारमा प्रहरीले चोरीको गाडी नियन्त्रणमा लिएको डिएसपी रविन्द्र केसीले जनाए ।
प्रहरीले ठूलो संख्यामा गाडी बरामद गर्दा पनि चोरीका गाडी बरामद हुने क्रम नघट्नुका पछाडि गिरोहको गाडीलाई वैधता प्रदान गर्ने चाल रहेको एक व्यवसायीले बताए । रौतहट जिल्लामा त अझ ठूलो संख्यामा चोरीका गाडी लिलाम हुने गरेको तिनले जनाए । 'रौतहटमा त राजनीतिकर्मी मात्र होइन केही सञ्चारकर्मी पनि यसरी गाडीधनी बनेका छन्,' ती व्यवसाीले भने, 'लिलाम सकारेर सस्तैमा नयाँ गाडी पाइने मात्र होइन सुराकी बापत कमिसन पनि कुम्ल्याउँछन् । बरामद गाडीको सबै पाटपुर्जा झिकिएका हुनाले कम मूल्यांकनमा लिलाम हुन्छ र अरू कसैले लिलाम सकार्न चाहँदैन ।
भारतीय गिरोहले स्थानीय बजारको माग अनुसारका गाडी सीमावर्ती रक्सौल र आसपासका क्षेत्रमा ल्याउँछन् । ती कारोबारीका अनुसार पहिले त वीरगन्जमै गाडी आइपुग्थ्यो । एसपी खरेल आएपछि भारतीय गाडी चेकजाँचमा कडाइ गरिएका कारण यस्ता गाडी लिन सीमा पारि नै पुग्नु परेको हो । पार्टपुर्जा झिक्नु अगावै गाडी बरामद भए चोरीका गाडीलाई सस्तैमा वैधता दिने योजना तुहिने भएकाले जोखिम नलिएको ती कारोबारीले बताए ।
पोखरिया, सिर्सिया खल्वा टोला, भिस्वा, जानकीटोला लगायत ठाउँमा चोरीका गाडीको कारोबारी सक्रिय रहेको डिएसपी केसीले बताए । नक्कली कागजपत्रका आधारमा पनि भारतीय गाडी प्रयोग गर्ने चलन छ । साभार: ईकान्तिपुर