सृजना राना
लमजुङ, पुस १५ गते
पुर्वी लमजुङको धार्मिक तथा पर्यटकीय स्थल इलमपोखरी संरक्षणको अभावमा पुरिने अवस्थामा पुगेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि इलामपोखरीको पोखरी साँघुरिदै गएको छ । पोखरीको क्षेत्रफल विगतका तुलनामा निकै सानो भएको स्थानियबासीन्दाले बताएका छन् ।
पोखरीको संरक्षणका लागी यसअघि अर्थमन्त्रालयबाट पाँच लाख, राष्ट्रिय ताल केन्द्रबाट दुई लाख र स्थानियबासीन्दाको श्रमदानबाट पोखरीको वरिपरी पर्खाल लगाए पनि भत्किन थालेको छ । इलमपोखरी गाविसको सिरानमा रहेको पोखरीको वरिपरी ठुलो घाँसे मैदान रहेको छ भने पोखरीमा नुहाउन जाने भक्तजनका लागि धर्मशाला निर्माण गरिएको छ ।
यो ठाउँलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न र जडिबुटी खेती गर्नका लागि आफुहरुले योजना बनाएको इलमपोखरी संरक्षण क्षेत्र तथा विकास मञ्चका अध्यक्ष क्षेत्रबहादुर गुरुङले बताउनुभयो । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५८ मिटरको उचाइमा रहेको इलमपोखरीमा चैत पुर्णिमाको दिन र हरिबोधनी एकादशीमा धार्मिक मेला लाग्ने गर्छ । मेलामा लमजुङ, गोरखा, तनहुँ लगायतका जिल्लाबाट भक्तजनहरु जाने गरेका छन् ।