न्युयोर्क, पुस १३ - ‘आई वान्ट विस यु मेरी क्रिसमस’ । सन १९७० मा पोटरिकन गायक एवम् गीतकार होसे फिलिकानोको ‘फेलिज नाभिडाड’ नामक यो चर्चित क्रिसमस गीतले हरेक क्रिसमसमा संसारलाई झुम पार्छ । यसपटक पनि यस्ले उम्दा कम भएन । तर न्युयोर्कबासी नेपालीहरुका लागि भने यसपटकको मेरी क्रिसमस भने ‘फेलिज नाभिडाड’ क्रिसमस गीत भन्दा अलि फरक धार बग्यो ।
‘रातो भाले कुईयाँ, कुईयाँ, सुत्केरीलाई ख्वाएँ’ यो नेपाली ठेट गीतले यसपटकको नेपाली क्रिसमस साँझलाई ततायो । किरात राई सोसाईटी अफ अमेरिकाले न्युयोर्कमा आईतबार आयोजना गरेको सुम्निमा साँझमा बाल्टिमोरबाट आएका नेपाली प्यारोडी कलाकार रतन सुबेदीले सो गीत मार्फत उपस्थित सबैलाई झुमाए ।
झण्डै चार सयको हाराहारीमा खचाखच भएको हलमा सुबेदीले ‘रातो भाले कुईया, कुईयाँ, सुत्केरीलाई ख्वाएँ’ भन्ने गीतलाई विभिन्न नेपाली गायकहरुको शैली प्रस्तुत गरेर सबैलाई हँसाएका थिए । हरेक बर्षको क्रिसमसको अवसरमा किरात राई सोसाईटी अफ अमेरिकाले गर्दै आएको सुम्निमा साँझको यो तेस्रो संस्करण हो ।
आयोजक संस्थाका अध्यक्ष मणी वाङदेल लगायत अन्य प्रस्तोताहरुको रोमान्चक प्रस्तुतीमा सञ्चालित कार्यक्रममा नेपाली संगीतिक क्षेत्रका स्थापित अनुहार जगदिश समाल, रोशन गुरुङलगायत तिलक श्रेष्ठ, अभय ढुङ्गेल, सुमन बुढामगर, दिपा लगायतका कलाकारहरुले गीतहरु पस्केका थिए भने स्थानीय कलाकारहरुले किराँत संस्कृती झल्काउने लगायत विविध नृत्य प्रस्तुत गरेका थिए ।
कोरियाली कलाकारहरुको नृत्य कार्यक्रमको फरक खाले आर्कषण थियो । त्यसैगरि कलाकार राजेन्द्र राई र उनकी नाबालक छोरी एन्जिलिना राईको ‘छोरी मलाई भागी भागी नसताउ’ भन्ने बोलको गीतको प्रर्दशनी सर्वाधिक रुचाईएको थियो भने वाकासा वान्तवाको नृत्य बेजोड रह्यो । वकिल बिनोद रोकाले चुटकिला मार्फत अमेरिकाको नेपाली परिवेश, नेपाली राजनीतिको बिषयमा रमाईलो व्यङग गरेका थिए ।
आयोजक संस्थाकी निला राईका अनुसार खगेन्द्र राईको संयोजनमा आयोजित कार्यक्रममा झण्डै दुई दर्जन कलाकारहरुको सहभागिता थियो । सांस्कृतिक कार्यक्रम अघि किरात राई सोसाईटी अफ अमेरिकाका अध्यक्ष चन्द्र आकाश राईको अध्यक्षतामा मन्तव्यको कार्यक्रम राखिएको थियो । सुम्निमा साँझको उद्घाटन राष्ट्र संघीय नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले गरेका थिए । कान्तिपुर