काठमाडौ, पुस ८ - माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि पनि मन्त्रीहरूले विभिन्न आयोजनाका महँगा र विलासी गाडी जबर्जस्ती झिकाएर चढ्ने क्रम जारी रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
आयोजनाका गाडी जबर्जस्ती खोसेर चढ्ने पछिल्लो पात्र हुन् ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ । उनले आफ्नो मन्त्रालय मातहतको चमेलिया जलविद्युत् आयोजनाको टोयोटा प्राडो
गाडी खोसेर चढेको जानकारी विद्युत् प्राधिकरणका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार उक्त गाडी चमेलिया आयोजनाका प्रमुखले चढ्दै आएका थिए । बा६च १०३१ नं. को गाडीमा अनधिकृत रूपमा नक्कली नम्बर प्लेट राखेर दोङले चढ्न थालेका हुन् । चमेलिया आयोजनाको नाममा दर्ता रहेको रातो नम्बर प्लेटको गाडीमा सरकारी नम्बर राख्न नमिल्ने भएकाले नम्बर प्लेट नक्कली राखिएको जानकारी स्रोतले दिए । सरकारले खरिद गरेपछि मात्र सरकारी नम्बर प्लेट राख्न मिल्छ ।
सरकारको नाममा यातायात विभागमा दर्ता नरहेको उक्त गाडीमा मन्त्रीका लागि हचुवाका भरमा बा१झ १०३१ नम्बर राखी रातो-नीलो रंगको नम्बर प्लेट राखिएको छ । उक्त गाडीमा राखिएको बा१झ १०३१ नं. नक्कली हो, यातायात विभागमा त्यही नम्बरको अर्को सरकारी गाडी दर्ता छ ।
अनधिकृत व्यक्तिले चढेको चमेलियाको यो सातौं गाडी हो । चमेलिया आयोजनाका लागि ९ वटा गाडी आवश्यक महसुस गरेर एउटै लटमा नौ वटा टोयोटा प्राडो झिकाइएको थियो । नौवटामध्ये आयोजनाका काममा दुइटा गाडीमात्र छन्, अरू ६ वटा अनधिकृत व्यक्तिले चढ्दै आएका छन् । एउटा गाडी आयोजनाका स्थलगत रूपमा कार्यरत इन्जिनियरले र अर्को आयोजनाकै परामर्शदाताले चढेका छन् ।
चमेलियाको गाडी उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल, प्राधिकरणका कार्यकारी निर्देशकले चढ्दै आएका थिए । निमित्त कार्यकारी निर्देशक रामेश्वर यादवले चमेलियाकै गाडी चढ्दै आएका छन् ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णयको नाममा नेताहरूलाई दिइएको सुविधा अवैध भएको फैसला गरेपछि चारै जना पूर्वप्रधानमन्त्रीले गाडी फिर्ता गरिसकेका छन् । सरकारले ती गाडी विधि पुर्याएर तिनै नेतालाई दिन थन्क्याएर राखेकाले राज्यमन्त्री दोङले चमेलियाकै अर्को गाडी लगेका हुन् । साभार: ईकान्तिपुर