सन्देश पौडेल,
लमजुङ पुस ८-हिमालपारीको जिल्ला मनाङको बगरछाप गाविसको जंगलमा विगत ११ दिनदेखि लागेको भिषण डढेलो अझै नियन्त्रणमा ल्याउन सकेको छैन । बगरछाप गाविसको वडा नं. ५ को क्युयार जङ्गलमा मङ्सिर २७ गते दिउसोदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको हो । डढेलो नियन्त्रण गर्न अहिलेसम्म गरिएका सबै प्रयासहरु विफल भएकोे जिल्ला प्ररही कार्यालय मनाङले जनाएको छ । निकै भिरालो भौगोलिक स्थान भएको र खडेरीका कारण हिउँ नपरेकाले डढेलो जङ्गलभरी फैलिएको मनाङका प्रहरी नायव उपरीक्षक नविनराज राईले जानकारी दिनुभयो ।
डढेलो लागेको खबर पाउने बित्तिकै सीमा प्रहरी चौकी कोतेबाट प्रहरी घटनास्थल पुगेपनि भिरालो जमिन भएकाले डढेलो नियन्त्रण गर्न नसकि फर्किएको थियो । त्यसपछि अहिलेसम्म प्रहरी र स्थानिय बासिन्दाले नियन्त्रण गर्न गरेका प्रयासहरु सफल हुन सकेका छैनन् । भिरालो जमिन भएकाले डढेलोबाट डडेका रुख र ढुङ्गामाटो झरेकाले फेदीबाटै आगो निभाउन जान नसकिएको प्रहरीले जनाएको छ ।
धुपी र सल्लाको बोटहरु रहेको जङ्गलको सयौं हेक्टर क्षेत्रफलसम्म आगो फैलिएको मनाङ चामेका विपि लामाले जानकारी दिनुभयो । उहाँले अब हिउँ नपरेसम्म आगो निभाउन नसकिने समेत बताउनुभयो । जङ्गल वरिपरि मानवबस्ती नभएकाले बढी जोखिम नभएपनि वनजङ्गलमा रहेका जीवजन्तुको नास भएको अनुमान गरिएको छ । आज फेरि प्रहरी, रामवाण गुल्मका सेना, स्थानियबासी र एक्याप प्रतिनिधिहरुको सहयोगमा डढेलो नियन्त्रणको प्रयास गरिने डिएसपी राईले बताउनुभयो ।
डढेलो जङ्गलभरि फैलिएको र तलतलसम्म आएकाले नजिकै रहेको कोतो गाउँमा आउनसक्ने भएकाले तल्लो क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणको प्रयास गरिने प्रहरीको भनाइ छ ।