सुमन बैरागी,
काठमान्डौ पुस ६-गायक शिशिर योगी युवापुस्ताका चर्चित गायकका रुपमा देखिन्छन् । कर्णप्रिय स्वरका धनी गायक योगी समाज र देशप्रेमसँग बढी नजिक देखिन्छन् । हुन त उनी माया प्रेमका गीतमा पनि नझुमेका होइनन्, तर पनि उनलाई परिचित गराउने गीतहरु भने समाज र देशप्रेमका कथाव्यथाभित्रै झल्किएका छन् । गायनको लामो यात्रा पार गरिसकेका गायक योगी दाङबाट काठमाडौंको यात्रा गर्दा सांगीतिक छविले उनको उचाई उच्च भएको छ । जति उनी गायनमा अघि बढ्दै गएका छन् उनका सुमधुर स्वरले उति नै चर्चा पाउने गर्छ ।
सारङ्गी त रेटे पनि.... बोलको गीत समाजमा निकै चर्चा बटुल्न सफल भयो । त्यो त समाजभित्रको कथा बोलेको थियो तर तिमीले पराइ ठानेपछि... बोलको गीत मायाप्रेमको थियो । यस्ता हजारौं गीतहरु उनले गाइसकेका छन् । तर उनी अझै सन्तुष्ट भने हुन सकेका छैनन् । गीत संगीत भनेकै मेरो प्राण हो, उनी भन्दै थिए – ‘जीवनको उत्सर्ग पनि गीतसंगीतमै खोजिरहेको छु ।’ यही सांगीतिक आरोह अवरोहको अगाडि अब भने उनी ‘मोडमोडमा’ नामक सोलो गीतिसङ्ग्रह लिएर आउने भएका छन् ।

उनको एकल स्वर रहने यस एल्बममा अर्को एक गीत पनि समावेश गरिएको छ । जुन १७ सालमा रेडियो नेपालमा सेन्सर बोर्डले रेकर्ड गर्न प्रतिबन्ध लगाएको थियो । स्वर सम्राट नारायण गोपालले संगीत गरेर रेडियो नेपालमा गीत रेडर्क गर्न खोज्दा सेन्सर बोर्डले रोकेको गीत अहिले उनले रेकर्ड गर्ने मौका पाएका छन् । एक मुठी चामल... बोको गीत रत्नशमशेर थापाले लेखेका थिए । गायक रुबी जोशीसँग त्यसको डमी रहेको फेला पारेपछि उनले त्यही डमीलाई रेकर्ड गर्न पाएकोमा निकै हर्षित भएको बताउँछन् । ‘स्व.स्वरसम्राट नारायण गोपालले आफ्नो जीवनको आरोहअवरोह सबै गीतसंगीतमै समर्पित गर्नुभयो तर यो गीत भने रेकर्ड गर्न पाउनुभएन, त्यही गीत मैले रेकर्ड गर्न पाएकोमा म अत्यन्तै खुशी भएको छु,’ उनले गर्व गर्दै भने । छिट्टै रिलिजको तयारीमा रहेको एल्बम मोडमोडमाको बजार प्रबद्र्धन भने शिशिर योगी संगीत प्रतिष्ठानले गर्ने भएको छ ।