कृष्ण न्याउपाने
दमौली पुस १० गते ।
तनहुँ जिल्लाभित्र प्रचारप्रसारको अभावमा पछाडि परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय सम्भावना बोकेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा प्रचार प्रसार गर्ने उद्देश्यका साथ फोटो पत्रकार महासंघ नेपाल तनहुँ शाखाले अभियान सञ्चालन गर्ने भएको छ ।
फोटो पत्रकार महासंघ नेपाल तनहुँ शाखाको आइतबार दमौलीमा सम्पन्न बैठकले तनहुँ जिल्लाका ४६ वटै गाउँ विकास समिति र व्यास नगरपालिकाभित्र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा तनहुँ जिल्लालाई चिनाउने उद्देश्यका साथ ‘तस्विरमा तनहुँ’ अभियान चलाउने निर्णय गरेको हो ।
शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा केन्द्रीय महासचिव डम्बर अधिकारीको विशेष उपस्थितिमा बसेको बैठकले प्रत्येक गाउँ विकास समिति, पर्यटन विकास समितिका पदाधिकारी एवं स्थानीय बासिन्दाहरुको समन्वयमा त्यस गाविसमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय स्थलहरुको खोजी गरी तस्विर मार्फत प्रचार प्रसार गर्ने तथा सबै गाविसहरुबाट तस्विरहरु संकलन पश्चात ‘तस्विरमा तनहुँ’ नामक पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै शाखा अध्यक्ष खड्काको संयोजकत्वमा तस्विर संकलन समिति गठन गरी तनहुँमा क्रियाशिल पत्रकारहरुलाई यस अभियानलाई सफल पार्न ऐक्यवद्धताका साथ अगाडि बढ्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।