काठमाडौं, माघ १४,
आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाईंदैछ । सूर्य उत्तरतिर लागि दिन लामा हुने र वसन्त ऋतु शुरु हुने भएकाले यस दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ ।
बालबालिकाहरुलाई अक्षर शुरु गराउने सर्वोत्तम दिन मानी आज घरघरमा केटाकेटीहरुलाई पठनपाठन शुरु गराईन्छ । शिक्षक, विद्यार्थी, साहित्यकार, चित्रकार, गायक, नर्तक, अभिनेता सबै विद्याका साधकहरुले आआफ्ना कलासाधनाका उपादानहरु कलम, कापी, कूची, वाद्ययन्त्र आदिको पूजा गर्छन् ।
श्रीपञ्चमीको अवसरमा देशभरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको घुईंचो लागेको छ । आज काठमाडौं उपत्यकाका स्वयम्भू, लेले र नीलसरस्वतीमा ठूलो मेला लागेको छ । ललितपुर लेलेको सरस्वतीकुण्डमा स्नान गरी सरस्वतीको दर्शन गर्नाले विद्या र ज्ञान प्राप्त हुने विश्वास गरिन्छ ।
आज सरस्वती पूजाको शुभ दिन भएकाले विवाह गर्दा साईत हेर्नु नपर्ने मान्यता छ । परम्परा अनुसार आजै काठमाण्डू वसन्तपुरको हनुमानढोका दरबारमा महाकवि जयदेवद्वारा लिखित गीतगोविन्द काव्यबाट वसन्तश्रवण गरिन्छ ।उज्यालो नेटवर्क