काठमान्डौ,
माघ १६ गते ।
प्रजातन्त्र प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने ज्ञातअज्ञात सहिदहरुको सम्झनामा आज देशभर सहिद दिबस मनाइदैछ । सहिद सप्ताह मुल समारोह समितिको आयोजनामा राजधानीको लैनचौरस्थित सहीदपार्कमा अहिले बिहान बिशेष समारोहका बीच श्रद्धाञ्जली सभा आयोजना गरिदैछ । रत्नपार्कस्थित शान्तिवाटिकामा अहिले बिहान साढे ८ बजे भेला भई प्रभातफेरी सहित सहिद स्मारक लैनचौरमा पुगेर श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको मूल समारोह समितिले जनाएको छ ।
समारोहमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमर सहिदहरुको स्तम्भमा माल्यार्पण गरी सहिदप्रति श्रद्धान्जली प्रकट गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा मन्त्रीहरु, सरकारका वरिष्ठ अधिकारीहरु र सुरक्षा प्रमुखहरुको सहभागिता रहनेछ । यसै अवसरमा राजधानीको गोकर्णस्थित सहिद पार्कमा पनि आज दिउँसो विशेष कार्यक्रम गरिदैछ ।
राजधानी लगायत देशका विभिन्न स्थानमा प्रभातफेरी, रक्तदान लगायतका विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको छ । नेपाली जनतालाई रैती र प्रजाबाट सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरकुश पञ्चायती ब्यवस्था र तानाशाही राजतन्त्र बिरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनहरुमा वीर सपुतहरुले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते सहिद दिबस मनाउने गरिन्छ ।
यस अबसरमा आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ । जहानियाँ राणा शासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका नेपालका अमर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तिका लागि बलिदान दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा प्रत्येक बर्ष माघ १० गतेदेखि एकसाता सम्म सहिद सप्ताहको रुपमा मुलुकभर बिभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
बि.स १९९७ माघ १० गते राणाशासन बिरुद्ध नेपाल प्रजापरिषद स्थापना गरि जनतालाई आफनो हक र अधिकारको लागि क्रान्ति गर्न उत्प्ररित गर्ने शुक्रराज शास्त्रीलाई टेकु स्थित खरिको रुखमा झुण्डयाएर मारिएको थियो भने धर्मभक्त माथेमालाई त्यसको तीन दिनपछि सिफलमा झुन्डयाइएको थियो । यस्तै दशरथ चन्द र गंगालाल श्रैष्ठलाई भने माघ १५ गते काठमाडांैको बिष्णुमती किनार शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । गणतन्त्र घोषणापछिको सरकारले करिव ८ सय भन्दा बढिलार्ई सहिद घोषणा गरिसकेको छ । यसैबिच सहिद दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आज एक सन्देश दिनुहुँदै वीर सहिदको सपनालाई साकार पार्दै नयाँ संविधान निर्माणको कार्यलाई समयमै सम्पन्न गर्नु हाम्रो परम कर्तव्य भएको बताउँनु भएको छ ।
आर्थिकरूपमा समृद्ध र न्यायपूर्ण समाज निर्माणको परिकल्पनासहित लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान गर्ने हाम्रा वीर सहिदले देखाएको बाटो अनुसरण गर्नु हाम्रा लागि उत्तिकै आवश्यक रहेको पनि उहाँले सन्देश व्यक्त गर्नुभएको छ । यसैगरी, उपराष्ट्रपति परमानन्द लोकतन्त्र तथा गणतन्त्र स्थापना गर्नका लागि सहिदको योगदानको कदर गर्दै निर्भीकरूपमा देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने सहिदको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै सहिद दिवसकै उपल्यक्षमा एक सन्देश दिदै प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्र र जनताका हितका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले सन्देशमा नेपालको राजनीतिक इतिहास निर्माण गर्ने क्रममा मुलुकको परिवर्तनका लागि जनताका पक्षमा उभिएर आफ्नो ज्यान बलिदान गर्ने सहिदको योगदान अतुलनीय रहेको समेत बताउँनु भएको छ ।
महान् सहिदका सपनालाई साकार पार्न निष्ठापूर्वक प्रयत्नशील रहँदै आएको चर्चा गर्दै सन्देशमा उहाँले आजको यस ऐतिहासिक दिनले नेपाली जनताको शान्ति र संविधान प्राप्तिको दिशामा सबै राजनीतिक दलका बीचमा रहेका मतभेद तथा विवादित मुद्दामा सहमति कायम गर्न प्रेरणा प्रदान गर्ने विश्वास समेत प्रधानमन्त्री भट्टराईले व्यक्त गर्नुभएको छ ।