मनोज अधिकारी, पोखरा, माघ १७,
पोखराका विभिन्न स्थानबाट सुनका गरगहना तथा धनमाल चोरी गरेको आरोपमा नुवाकोटका ३० वर्षिय दीपक थापा पक्राउ परेका छन्। उनलाई माघ ११ गते प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। नुवाकोट कदानपुर-५ का थापा हाल काठमाडौं गोठाटार बस्दै आए पनि केही समययता पोखरामा चोरी गर्न सक्रिय रहेको प्रहरीको दावी छ।
प्रहरीले खोजतलासका क्रममा शंका लागि सोधपुछ गर्दा उनको साथबाट चोरीका गरगहना समेत फेला परेको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार थापासँग सुनको हार, ब्रासलेट, औंठी, सिक्री, टप, रिङ्ग, तिलहरी लगायतका विभिन्न गरगहना गरी कुल ३० तोला बराबरको धनमाल बरामद भएको छ।
प्रहरीका अनुसार उनले माघ १ गते राति पोखरा-६ बैदामका लेखनाथ थपलियाको घरबाट सुनका विभिन्न गहना चोरी गरेका थिए। यस्तै उनले माघ ६ गते पोखरा-१ नयाँगल्लीस्थित रामकुमारी गुरुङबाट समेत सुनका गरगहना चोरी गरेको दावी प्रहरीले गरेको छ।
माघ ११ गते पनि पोखरा-१७ विरौटास्थित टिकाप्रसाद गुरुङको घरबाट विभिन्न सुनका गरगहना चोरी भएका थिए। त्यसमा पनि उनकै संलग्नता रहेको प्रहरीले जनाएको छ।