सन्तोष श्रेष्ठ
समीक्षक र समीक्षाको वास्तविक परिभाषा नबुझेर कुनै कृतिका बारेमा बोल्न खोज्नु भनेको गाडी चलाउन नसिकी गाडी चलाउँदा दुर्घटनामा पर्नु वा पार्नु जस्तै हो । व्यक्तित्व पनि खस्कने नै भयो । सबैभन्दा पहिले बुझ्नु पर्ने कुरा के हो भने समीक्षा भनेको बृहत नेपाली शब्दकोषमा लिपिवद्ध गरेअनुसार कुनै कृतिबारे गम्भीरतापूर्वक अध्ययन गरी निष्पक्ष रुपमा गुण–दोष छुट्याउने कामलाई नै बुझिन्छ । समीक्षालाई समालोचना पनि भनिन्छ । कुनै कृतिमाथि समीक्षा वा समालोचना गर्ने व्यक्तिलाई नै समीक्षक वा समालोचक भनिन्छ । कुनै समारोहमा कृतिमाथि टिकाटिप्पणी गर्दा कमसेकम यति कुराको मात्र ख्याल राख्दा पनि उपस्थितमाझ आफ्नो अस्तित्व बचाउन सकिन्छ ।आजभोलि धेरै जसो कृतिको बिमोचन, लोकार्पण पाँचतारे होटल वा ठूला ठूला महलहरुमा ठूलै उत्सवका साथ गरिन्छ, त्यो पनि सन्ध्याकालीन समयमा । अर्थात पूर्व दिशाबाट उदाएको लालीकिरण पश्चिम दिशामा अस्ताउन लागिसकेको हुन्छ । सकेसम्म राम्रो काम शुभ कार्य उज्यालो समयमा गर्दा उचित मानिन्छ । निमन्त्रणा पत्रमा पनि स्पष्ट रुपमा लेखेको हुन्छ कि विमोचनपछि कक्टेल डिनर हुनेछ । कक्टेल डिनर सहितको कुनै कृति विमोचन समारोहमा मिसिन नसक्नेहरुलाई अलिकति अप्ठ्यारो महसुस हुन्छ र भएको पनि देखिन्छ । सकारात्मक दृष्टिबाट हेरियो भने तारे होटल वा ठूला–ठूला महलहरुमा कक्टेल डिनरसहितको विमोचन राम्रै पनि हो । किनकी सबै जनालाई सधैँभरी त्यो ठाउँमा पुग्नु र रमाउनु सम्भव पनि हुदैन । मौकामा चौका हान्नु भनेझैँ त्यस्ता ठाउँमा बेला बेला विमोचन र कृतिको समीक्षा हुँदा राम्रै हुन्छ । धेरै जसोका जिब्रोले ठूला ठाउँमा तयार गरिएका विभिन्न परिकारका स्वादहरु चाख्न त पाउँछन् नै ।
विभिन्न ठाउँमा गरिने विमोचन, लोकार्पण र समीक्षा कार्यक्रम वा समारोहमा बेलाबखत यो स्तम्भकारलाई पनि उपस्थित हुने मौका मिल्छ । स्वयम् उपस्थित नभए त यो छुच्चो कलम कसरी चल्थ्यो र ! मलाई थाहा छ, अनि आफूलाई राम्रोसँग बुझेको महसुस गर्छु । अर्काका बारेमा धेरै टिकाटिप्पणी गर्नु हु्ँदैन, चियोचर्चो गर्नु हुँदैन र अनावश्यक नकारात्मक विषयवस्तुलाई उचाइमा पु¥याउनु हुँदैन । तर जुन कुरा सुनिन्छ, अनि देखिन्छ । स्पष्ट रुपमा यो ठीक हो, यो बेठीक हो भन्न सक्नुपर्छ । वास्तविक रुपमै गलत हो भन्ने थाहा पाएपछि ती गलत कुराहरुमा भने कलम चलाउनै पर्ने ठान्दछु र चिरफार पनि गर्दछु ।
मलाई लाग्छ, सबै कुराहरु सधैँभरी परम्परागत शैलीमा चलिरहनुपर्छ भन्ने होइन, तर कुनै विषयवस्तुको सिद्धान्त र संरचनाभन्दा बाहिर गएर गरिने चर्चा परिचर्चा गर्ने परिपार्टी चाहिँ गलत नै हो । यस्तै एक समारोहमध्ये केही समय अगाडि एउटा एल्बम विमोचन समारोहमा म पनि उपस्थित भएको थिएँ । केही समयपछि कार्यक्रम सुरु भयो । मञ्चबाट उद्घोषण गरिरहनु भएको उद्घोषक महोदयले पटक–पटक आजको कार्यक्रम भव्य र सभ्य रुपमा अगाडि बढिरहेको छ भनिरहनु भएको थियो । भव्यता र सभ्यताको महसुस मैले पनि गरिरहेको थिएँ ।
किनकी उक्त समारोहमै हामीले चिनेका, मानेका र ठानेका नेपाली साहित्य, सङ्गीत, कला, संस्कृति, संचार क्षेत्रका बरिष्ठताका उपाधि भिरेकाहरुको ठूलै जम्घट थियो । त्यति भइसकेपछि उक्त कार्यक्रमलाई मैले भव्य र सभ्य ठानिनँ भने म आफैं तिरस्कृत हुन्थे ।
आ–आफ्नो क्षेत्रमा रहेका विभिन्न व्यक्तित्वहरुलाई विभिन्न ठूला–ठूला उपमाहरुसहित मञ्चको माथिल्लो भागमा अतिथिको आशनग्रहण पनि गराइयो । द्विप प्रज्वलनसहित कार्यक्रमको उद्घाटन पनि गरियो । विमोचनका लागि तयार पारिएको एल्बम पनि विमोचन सामूहिक रुपमा गरियो । विमोचन पश्चात एल्बमको समीक्षा गर्ने काम अगाडि बढ्यो । ती विभिन्न उपमाहरुसहित मञ्चमा बसेका बरिष्ठ व्यक्तिहरुबाट समीक्षात्मक अभिव्यक्तिको सुरुआत भयो ।
समीक्षाको सुरुवात अर्थात समीक्षा गर्ने तरिका मैले यो लेखको माथिल्लो पंक्तिमा परिभाषित गरे जस्तै तरिकाले हुन्छ होला भनेको थिएँ । तर त्यसरी भएन ।
मैले बुझेकै तरिकाले हुनुपर्छ भन्ने पनि होइन । शैली आ–आफ्नै हुन्छन् । बृहत नेपाली शब्दकोषमा अर्थाई अनुसार हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त हो र मेरो मान्यता पनि । उक्त कार्यक्रममा समीक्षकहरुले कृतिको भित्री विषयवस्तुभन्दा कृतिकारको बाहिरी आवरणको वढ्ता बख्यान गरियो । उक्त समारोहमा त्यस्ता वरिष्ठ व्यक्तित्वहरुले आफ्नो बारेमा गुणगान गाउँदा कृतिकार पनि पुलकित भइरहेका थिए । कृतिकार प्रशन्न मुद्रामा देखिन्थे । तर उनलाई त्यो तरिका मन परिरहेको रहेनछ । आफूलाई मन नपरेको कुरा विमोचन र समीक्षापछिको भेटमा यो पंक्तिकारसँग गुनासो गरे ।
कृतिभन्दा कृतिकारको बढी समीक्षा गर्नुपर्छ भन्ने बुझेका समीक्षकमध्येहरु अरु कसैले भने कृतिभित्र छिरेर पनि बोल्ने कोशिस त गरे तर उक्त कृतिमाथिको समीक्षा हास्यास्पद र लज्जासपद थियो । त्यो कुरा उपस्थित सबैले बुझिसकेका थिए । यदि नबुझेका भए पनि घरमा पुगेर सबैले बुझे ।
विमोचन समारोहमा आउने सबैलाई एक एक प्रति अडियो सिडी निशुल्क उपलब्ध गराइएको थियो । मैले यहाँ जोड्न खोजेको कुरा के हो भने आफूलाई जुन विषयमा राम्रो र गहिरो ज्ञान छैन, त्यस्तो विषयमा बरिष्ठ हुने लोभमा जिब्रो नचलाउँदा अझ बढी वरिष्ठ नै भइन्छ । अन्यथा बरिष्ठता गुम्दै जान्छ ।
समीक्षकले समीक्षा गर्दा जे जे बोले, कृति वा एल्बमको भित्री कुरा भन्दा धेरै फरक थियो । पातालमा बसेर आकाश देखेझैँ, छोएझैँ गरेको निरर्थक बकबक थियो । उनले जुन जुन तालको चर्चा गरे ती तालहरु नै उक्त एल्बमका गीतमा प्रयोग गरिएको थिएन । न स्केलको कुरा नै ठीक थियो, न रागहरुको नै ।
आरोह–अवरोहका बारेमा गरिएका चर्चा भने ठीकै थिए । बुझ्ने र अग्रिम सुनेकाहरुहरुलाई भने लाज लागिरहेको थियो । मलाई लाग्थ्यो, त्यो समीक्षा कृतिकारलाई खुसी पारेर चिया, समोसा वा माथि उल्लेख गरिएझैँ कक्टेल डिनर पचाउने खेल मात्र थियो ।
यसरी कुनै कृतिको गहिरो अध्ययन बिना हावादारी समीक्षा गर्नु साहित्यिक, सांगीतिक वा अरु कुनै विषयवस्तुको अवमूल्यन हो र यस्तो संस्कार विकृति हो ।
लेखक संगीतकार हुन्